काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले लगायतका ठूला दलहरूमा ठूलो वैचारिक राजनीतिक सङ्कट रहेको बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले खासगरी एमालेमा ठूलो वैचारिक, राजनीतिक र नेतृत्वको सङ्कट देखिएको तर्क गरे ।
‘कांग्रेसमा तपाईहरुले हेर्नु भयो भने विश्वेश्वरप्रसाद कोइराला र पछिल्लोपटक गिरिजाप्रसाद कोइराला जस्ता नेताहरूले खेलेको भूमिका या गरेको योगदानको हाराहारीमा पुग्ने वैचारिक, राजनीतिक र साङ्गठनिक नेतृत्वको खडेरी परेको देखिएको छ । म योभन्दा बढी अहिले भन्दिनँ र त्यही कुरा एमाले भित्र झन् ठूलो वैचारिक, राजनीतिक र नेतृत्वको सङ्कट अहिले देखिएको छ’,उनले भने ।
मदन भण्डारी र जनताको बहुदलीय जनवाद (जबज) को आधारमा टिकेको एमालेमा अहिले उत्तराधिकारीको सङ्कट रहेको बताउँदै प्रचण्डले भने, तर आजको दिन सङ्कट के भयो भने जबजको उत्तराधिकारी को होरु जबजको प्रवर्तक नै को होरु त्यसको प्रस्तावक को हो भन्नेमा विवाद सुरु भयो । तपाईँ हेर्नुस्, यो ठूलो सङ्कट हो ।
एमालेमा देखिएको सङ्कट गहिरिने सङ्केत गर्दै प्रचण्डले प्रधानमन्त्रीले मदन भण्डारीसँग सम्बन्धित एउटा स्मृति कार्यक्रममा मदन भण्डारीका ४ वटा श्रीमती थिए र सहकारी ठगीको आरोप थियो भनेर कुराबाट सुरु भएको त्यो प्रक्रिया अहिले पक्कै पनि पूर्व राष्ट्रपति विद्या भण्डारीजीले मदन भण्डारी र जबजको सच्चा उत्तराधिकारी मै हो भन्ने ढङ्गले भण्डारी अगाडि आएको बताए । उनले भण्डारी सो कदमले पनि एमालेमा सङ्कट चुलिएको बताए ।
एमालेभित्रको विवादलाई प्रचण्डले ठूलो वैचारिक राजनीतिक संकटको संज्ञा दिए । उनले वैचारिक सङ्कट नभएको एक मात्र पार्टी माओवादी केन्द्र भएको जिकिर गरे । ‘हामीलाई आठौँ महाधिवेशनले गरेको निर्णय समाजवादी क्रान्ति सम्बन्धी सर्वसम्मत निर्णय छ, त्यहाँ अहिलेसम्म कसैले विमति राखेको छैन’ उनले भने, ‘केही महिना अगाडि केन्द्रीय समितिको बैठक पनि सर्वसम्मत निर्णयबाट भएको छ र हामी अभियानमा छौँ ।














