बाँके । नेपालगन्ज उपमहानगरपालिका-१२ बेलासपुरमा १९ वर्षीया निर्मला थापाको हत्या भएको छ । दैलेखकी निर्मला शुक्रवार आफू बस्दै आएको डेरामा मृत फेला परिन् । हत्याको आरोपमा उनकै प्रेमी, बर्दियाका ३३ वर्षीय प्रकाश सुनार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी दीपक पातलीका अनुसार प्रकाशले प्रहरीलाई फोन गरी हत्या स्विकार्दै आत्मसमर्पण गर्न आएका थिए । प्रारम्भिक अनुसन्धानमा उनीहरू तीन वर्षदेखि ‘लिभिङ टुगेदर’ मा थिए । पछिल्लो समय विवाद बढ्दै गएको र प्रकाशले निर्मलालाई डोरीले घाँटी कसेर हत्या गरेको खुलासा भएको छ ।
प्रकाश विवाहित भएको र यो कुरा निर्मलालाई थाहा नभएपछि उनीहरूबीच बारम्बार झगडा हुने गरेको प्रहरीले जनाएको छ । हत्या बुधवार राति भएको र प्रकाशले बिहीबार निर्मलाको परिवारलाई समेत फोन गरेर घटनाको जानकारी दिएका थिए । शव पोस्टमर्टमपछि परिवारलाई जिम्मा लगाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।














