काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन् । कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शाहले बिहीबारको प्रदेश सभा बैठकमा विश्वासको मत लिने निर्णय गरेको हो ।

कांग्रेसले शाहलाई विश्वासको मत दिन ह्वीप पनि गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि उक्त दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
सरकारले समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था बमोजिम मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् । सुदूरपश्चिम प्रदेशसभामा (एक निलम्बन बाहेक) ५२ जना प्रदेश सभा सदस्य छन् ।
विश्वासको मतका लागि शाहलाई २७ जनाले समर्थन चाहिन्छ । अहिले शाहको पक्षमा कांग्रेसका १८ र एमालेका ११ सांसद गरेर २९ जनाको समर्थन रहेको छ । उनले विश्वासको मत पाउनेछन् ।
माओवादी केन्द्रका १०(सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ३ जना, राप्रपा र स्वतन्त्र सांसद १÷१ जना प्रदेश सभा सदस्य प्रतिपक्षमा छन् ।











