Logo
Logo

सुनिशा भन्छिन्- अहिले पनि संघर्षरत छु


7.7k
Shares

टेलिशृँखला ‘सीता’की मुख्य पात्र हुन् सुनिशा बजगाइँ । यही टेलिशृँखलामार्फत उनी लोकप्रिय बनेकी हुन् । अब्बल अभिनयका कारण दर्शकको मन जित्न सफल हुँदै आएकी सुनिशा हिजोआज निक्कै व्यस्त छिन् । म्युजिक भिडियो मोडलसमेत रहेकी सुनिशा थिएटर कलाकार पनि हुन् । उनीसँग दर्जनौँ नाटकमा अभिनय गरेको अनुभव छ । उनी भन्छिन्, ‘कला क्षेत्रमै केही गरौँ भन्ने सोचले अगाडि मिहिनेत गरिरहेकी छु ।’ कलाकारितामा करिअर बनाउने लक्ष्यसहित संघर्षरत सुनिशा बजगाइँसँग रेजिना पाण्डेको जम्काभेट :

तपाइँ अभिनित टेलिसिरियल ‘सीता’ किन रुचाइयो ?
‘सीता’को कथावस्तु वर्तमान समाजसँग मिल्ने छ । वास्तवमै यो टेलिसिरियललाई दर्शकले औधी रुचाउनुभएको छ । हाम्रो कामलाई दर्शकले माया गरिदिनुभएको छ । हामी कलाकारका लागि दर्शकको माया नै सबथोेक हो । म लगायत टिम खुसी छौँ ।

पछिल्लो समय टेलिभिजन नै हेर्न छोडिएको अवस्था छ । यस्तो बेला टेलिभिजनमा काम गर्न कतिको चुनौती छ ?
हेर्नै त छाडिएको चाहिँ छैन जस्तो लाग्छ । पहिलेभन्दा टेलि दर्शक घटेको चाहिँ पक्कै हो । तर जतिले टेलिभिजन कार्यक्रम हेर्नुहुन्छ, उहाँहरुले हाम्रो सिरियल मन पराउनुभएको छ । अरु पनि धेरै टेलिभिजन कार्यक्रमहरु छन् । टेलिभिजन कार्यक्रम मन पराउने दर्शककै कारण धेरै कलाकारहरुले आफ्नो प्रतिभा देखाउन पाएका छन् । र, बाँचेका छन् ।

म्युजिक भिडियो र टेलिसिरियलमा काम गर्दै हुनुहन्छ, ठुलो पर्दामा देखिने सोच छैन ?
हेरौँ, कामको अफर नआएको भने होइन । कतै कुरै मिलेको छैन । साना–तिना कुराले काम गर्न रोकिरहको छ । यही क्षेत्रमा निरन्तर काम गर्ने भनेर लागि परेको छु । त्यसैले ढिलो–चाँडो सिनेमामा पनि पक्कै मलाई देख्न पाउनु हुनेछ ।

होम प्रोडक्सनबाट सिनेमा बनाउने साचे योजना छ कि छैन ?
अहिले खासै योजना बनाएकी छैन । बिस्तारै निर्माणमा पनि आउन सक्छु । फिल्म क्षेत्रमा नयाँ कन्सेप र नयाँ ढगंबाट सिनेमा तयार गर्न सकियो भने राम्रै हुन्छ । यसमा बिचार गर्न सकिन्छ ।

तपाइँको कलाकारिताको यात्रा कसरी सुरु भयो ?
मलाई सानैदेखि कलाकारितामा रुचि थियो । मेरो रुचि र रहर देखेर धेरैले ‘तिमी राम्रो कलाकार बन्न सक्छौ’ भन्दै तारिफ गर्दथे । बाल्यकालमै सडक नाटकहरु पनि गरेँ । म सुनसरीको मान्छे, त्यसैले रहरले काठमाडौँ आएर यहि काम गर्छु भन्ने सोचेकी थिएँ । जब थिएटरको बारेमा बुझेपछि अभिनयको कक्षा लिन थालेँ । जब सुनिल पोखरेल निर्देशित नाटक ‘जार’ हेरेँ, तब मलाई नाटकमा रुची बढ्यो । अहिलेसम्म दर्जनभन्दा बढी नाटक गरिसकेकी छु । त्यसबीचमा म्युजिक भिडियोहरु पनि गरेँ । यसैक्रममा टेलिसिरियलमा काम गर्ने अवसर आयो । यसरी नै मेरो कलाकारिता यात्रा सुरु भएको हो ।

थिएटरको सुरुवाती यात्रा कस्तो थियो ?
राम्रै थियो । जब थिएटरको प्रशिक्षण र थिएटरको अभिनयमा चार, पाँत बर्ष विताएँ । तब थिएटरमा मात्र सिमित हुन नसिकने देखेर म्युजिक भिडियो र फिल्म र टेलिसिरियलतिर काम गर्न थालेकी हुँ । ठुलो पर्दामा काम गर्दा धेरैले चिन्छन् भन्ने लागेर फिल्म ‘इन्टु मिन्टुु’मा साइन गरेँ । त्यसपछि ‘हरी’, ‘पासो’ र ‘प्रसाद’ फिल्ममा काम गर्दै यहाँसम्म आइपुगेको छु ।

थिएटर र फिल्ममा काम गर्दा के भिन्नता पाउनुभयो ?
फरक त भइ नै हाल्छ । थिएटरको आफ्नै बिशेषता छ, फिल्मको आफेनै बिशेषता । तर, थिएटर सानो भएकाले दर्शक सिमित छन् । फिल्ममा धेरै दर्शकले चिन्ने र नाम र दाम पनि हुन्छ । पछिल्लो समय थिएटरका धेरै कलाकार फिल्ममा आएका छन् ।

थिएटरको अवस्था नाजुक छ हो ?
पहिलाको जस्तो छैन । र, त्यस्तो नाजुक पनि छैन । बिस्तारै सुुधार भएको हो कि जस्तो लाग्छ । किनकि अहिले पनि थिएटरमा आउन चाहनेहरु बढिरहेका छन् । यो सकरात्मक हो ।

सुनसरीको हुनुहुन्छ, काठमाडौंमा संघर्ष गर्न कतिको ग्राह्रो भयो ?
म सुनसीको झुम्कामा जन्मे–हुर्केकी हुँ । मेरो कर्मथलो काठमाडौं भएको छ । सुरुका दिनमा यहाँ काम पाउन सहज थिएन । नयाँ ठाउँ, नयाँ मान्छे । त्यसमाथि पनि मेरो पारिवारिक व्याकग्राउन्ड सामान्य थियो । मेरो कला क्षेत्रमा कोही थिएन । बाबा स्कुलको प्रिन्सिपल हुनुहुन्थ्यो भने ममी हाउसवाईफ । त्यसैले सुरुका दिनमा संघर्ष गर्न निक्कै गाह्रो भयो । र, अहिले पनि संघर्ष गरिरहेकी छु ।

तपाइँलाई नजिकबाट चिन्नेहरुले के भन्छन् ?
म खासै कसैको चित्त दुखाउँदिन । मलाई धेरै बोल्न पनि मन पर्दैन । सबैको राम्रो होस् भन्ने चाहन्छु । आलोचना गर्ने मेरो बानी नभएकोले होला, मेरो पनि खाशै ओलोचना गरेको सुन्दिनँ ।

विवाहपछि कलाकारितामा काम गर्न कतिको सहज छ ?
विवाहअघि पनि मैले ममी र बाबाबाट राम्रै साथ पाएकी थिएँ । विवाह भएपछि पनि साथ मिलेको छ । सासु–ससुरा र श्रीमान राज यही क्षेत्रमा भएकोले मलाई काम गर्न सहज भएको छ ।

बैवाहिक जीवन कस्तो चल्दैछ ?
एकदमै राम्रो, खुसी छु । व्यवहारमा यस्तो भयो, उस्तो भयो भनेर चित्त दुःखाउने ठाउँ कतै छैन । श्रीमान तथा परिवार सबै उत्तिकै पे्ररणादायी हुनुहुन्छ ।

आउँदै गरेको तीजलाई कसरी मनाउदै हुनुहुन्छ ?
महिलाहरुको महान पर्व हो तीज । तीजमा आफ्ना, आफन्तसँग मिलेर नाच्चने, खाने र व्रर्त लिने हो । मलाई तीज मनपर्छ ।

हिजोआज कतिको व्यस्त हुनुहुन्छ ?
व्यस्त नै छु । खाली बस्नुपरेको छैन । टेलिशृँखला ‘सीता’ र म्युजिक भिडियो तथा टिभीसीहरुमा काम गर्दै आएकी छु । अहिले एक÷दुई चलचित्रमा कुराहरु भइरहेको छ ।

फुसर्दमा के गर्नुहुन्छ ?
सामाजिक सञ्जाल चलाउँछु । त्यसमा पनि रिल बनाउँछु, टिकटक बनाउँछु र खाना बनाउँछु ।

प्रतिक्रिया दिनुहोस्