Logo
Logo

रुसमा ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प


2.5k
Shares

काठमाडौं । रुसको सुदूरपूर्वी तटमा बुधबार ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (युएसजीएस)ले यो जानकारी दिएको हो ।

यसअघि भूकम्पको तीव्रता ८ म्याग्निच्युड अनुमान गरिएको थियो, जसलाई पछि बढाएर ८.७ बनाइएको हो । युएसजीएसका अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर (८५ माइल) टाढा र १९ किलोमिटर गहिराइमा गएको हो । शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ ।

रुसको काम्चात्का प्रायद्वीपमा सुनामीको जोखिम रहेको भन्दै गभर्नर भ्लादिमिर सोलोदोभले स्थानीय बासिन्दालाई तटीय क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेको समाचारमा उल्लेख छ । अहिलेसम्म न्यून क्षतिको मात्र रिपोर्ट आएको उनले जनाएका छन् ।

जापानको मौसम विज्ञान एजेन्सीले पनि जापानका तटीय क्षेत्रहरूमा १ मिटर अग्लोसम्म छाल आउन सक्ने भन्दै सतर्कताको सूचना जारी गरिएको जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेले जनाएको छ ।

प्रशान्त सुनामी चेतावनी केन्द्रले प्रारम्भिक भूकम्पीय मापदण्डका आधारमा व्यापक र खतरनाक सुनामी आउने सम्भावना रहेको जनाएको छ । हवाई टापुहरूमा र अलास्का राज्यको एल्युसियन टापु समूहका केही भागका लागि पनि सुनामीको पूर्वसूचना जारी गरिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्