काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । दुई नेताबीच मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल हुने बताइएको छ ।

बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री समेत रहेका नेता रमेश लेखक तथा एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी छन् ।
सरकार गठनको एक वर्ष पूरा भएपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री ओली लागेका छन् । यसका लागि उनले प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसका सभापति देउवासँग छलफल सुरु गरेका हुन् ।
एमाले अध्यक्षसमेत रहेका ओलीले पार्टीका विभिन्न बैठकहरू सम्पन्न गरेपछि मन्त्रीहरूको हेरफेरको तयारी थालेका छन् । केही मन्त्रीहरू ‘घुस डिल’ प्रकरणमा मुछिएपछि ओलीले देउवासँग मन्त्रीहरू हटाउने प्रस्ताव राखेका थिए ।
निवर्तमान सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको घुससम्बन्धी अडियो सार्वजनिक भएपछि ओलीले मन्त्री फेर्ने प्रस्ताव अघि सारेका थिए । निवर्तमान सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले गत असार ३० मा राजिनामा दिएका थिए ।
त्यसको भोलिपल्ट नै उक्त मन्त्रालयको जिम्मेवारी राष्ट्रिय सभाका सांसद भगवती न्यौपानेलाई दिइएको थियो । देउवाले भने ओलीको प्रस्तावमा असहमति जनाएका छन् । उनले आफ्नो पार्टीका मन्त्रीहरू नहटाउने र ओलीलाई एमालेका मन्त्रीहरू हेरफेर गर्न सुझाएका छन् ।
यता, कांग्रेसभित्र मन्त्रीहरूको कार्यसम्पादनप्रति असन्तुष्टि बढ्दै गएको छ । कांग्रेसका पाँच पूर्वपदाधिकारीहरू गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा। प्रकाशशरण महतले देउवालाई असक्षम मन्त्रीहरू फिर्ता बोलाउन सुझाव दिएका छन् ।














