काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्वाचित केन्द्रीय सदस्य किशोर बहादुर कार्कीले पार्टी परित्याग गरेका छन् । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनले नेतृत्वको स्वेच्छाचारी प्रवृत्ति, गुटबन्दी, भागबन्डा र हैकमवादी शैलीबाट निराश भएर पार्टी छाड्ने निर्णय गरेको बताए ।

कार्कीले पार्टी अध्यक्षले विमति राख्ने कार्यकर्तालाई पाखा लगाएर चाप्लुसी गर्नेलाई संरक्षण दिएको आरोप लगाए । उनले सुर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द, पशुपति शम्शेर राणा, कमल थापा र डा. प्रकाश चन्द्र लोहनीसँग विभिन्न जिम्मेवारीमा काम गरेको अनुभव सुनाउँदै वर्तमान नेतृत्वले पार्टीलाई विधिविहीन ढङ्गले सञ्चालन गरेको दाबी गरे ।
पार्टीमा विचारभन्दा पद, सेटिङ र साँठगाँठलाई प्राथमिकता दिइएको, पुराना कार्यकर्तालाई पाखा लगाएर अयोग्य र नवप्रवेशीलाई जिम्मेवारी दिइएको तथा बारम्बार चुनाव चिन्ह परिवर्तनले कार्यकर्तामा निराशा बढेको उनको भनाइ छ ।
यस्तो प्रवृत्तिले सङ्गठनको आत्मा मरेको अनुभूति भएको कार्कीले उल्लेख गरे । साधारण सदस्यता समेत त्याग्दै कार्कीले कुनै दल वा गुटमा नरही स्वतन्त्र रूपमा राष्ट्र र जनताको सेवामा रहने बताए । पूर्वमधेस प्रदेश संयोजक, प्रवक्ता र अनुशासन समिति सदस्य सचिव रहेका कार्कीको बहिर्गमनले राप्रपाभित्रको आन्तरिक कलह सतहमा आएको छ।














