पोखरा । पोखरा महानगरपालिका-१४ मा रहेका ऐतिहासिक चौतारीका बर, पीपल र समीका सयौँ वर्ष पुराना रुख अनधिकृत रूपमा काटेको आरोपमा डिभिजन वन कार्यालय कास्कीले ७ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

अभियोगपत्रमा मानवसेवा फाउन्डेसन नेपालका प्रबन्धक विष्णुराज गिरीसहित ताराप्रसाद तिवारी, योगमाया बराल, अर्जुनबहादुर कार्की, रामकृष्ण अधिकारी, ज्ञानेन्द्र सार्की र रमेश पौडेललाई प्रतिवादी बनाइएको छ ।
वन कार्यालयका प्रमुख कोमलराज काफ्लेका अनुसार वन ऐन र नियमावलीविपरीत रुखका हाँगाहरू काटेर समिधा बनाउने र बेच्ने गरेको अनुसन्धानमा पाइएको छ । वन ऐन २०७६ को दफा ४९(घ) अनुसार कसुरमा १० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय माग गरिएको छ ।
गत फागुनमा मानवसेवा फाउन्डेसनले कोटी होमका लागि भन्दै पोखराका विभिन्न वडामा ३३ वटा पुराना रुख काटेका थिए । जसमा चराचुरुंगीको बासस्थानसमेत थियो । संरक्षणकर्मी र विभिन्न सङ्घसंस्थाले दोषीलाई कारबाहीको माग गर्दै वन कार्यालय र अख्तियारमा उजुरी दिएका थिए । पोखरा महानगरपालिकाले काटिएका काठ दाउरा जफत गरेको थियो ।














