काठमाडौं । नेकपा (माओवादी केन्द्र) भित्रको आन्तरिक विवाद चर्किँदै जाँदा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले नेतृत्वको बचाउ गर्न खुमलटारबाट सामाजिक सञ्जालमार्फत विरोधीविरुद्ध अभियान सुरु गरेको छ ।

पार्टी उपमहासचिव जनार्दन शर्माले नेतृत्वमाथि चुनौती दिइरहेको अवस्थामा त्यसको प्रतिकार गर्न खुमलटारबाट सङ्गठित टिम परिचालन गरिएको हो । शुक्रबारदेखि सुरु हुने स्थायी समिति बैठकको पूर्वसन्ध्यामा गठित यो साइबर समूहले शर्माविरुद्ध केन्द्रित भएर सामाजिक सञ्जालमार्फत प्रतिवाद गर्ने रणनीति बनाएको छ ।
यो अभियानको नेतृत्व प्रचण्डको सचिवालयमा रहेका विश्वदीप पाण्डे र गोकण भट्टले गरिरहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार, यो साइबर अभियानको योजनाकार राष्ट्रियसभा अध्यक्ष नारायण दाहालका स्वकीय सचिव विष्णु सापकोटा ‘जुगल’ हुन् ।
सापकोटा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष अग्नि सापकोटाका भतिज हुन् । तर, सापकोले सङ्गठित टिम परिचालन गरेको कुरा अस्वीकार गरेका छन् । उनले नेतृत्वको रक्षा गर्न नेता–कार्यकर्ताको दायित्व भएकाले कार्यकर्ताहरू स्वतस्फूर्त रूपमा नेतृत्वको पक्षमा उभिएको बताएका छन् ।














