
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि गम्भीर आरोप लगाएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले ओली र प्रचण्डले आलोचकलाई राजनीतिक सफाय गर्न थालेको आरोप लगाएका हुन् ।
ओली र प्रचण्डको तस्बिरसहित स्टाटस पोष्ट गरेका डा. भट्टराईले नेपालका कम्युनिष्ट नेताहरूले पनि रूसी नेता जोसेफ स्टालिनले झैं आलोचकलाई राजनीतिक सफाया गर्ने बाटो रोजेको आरोप लगाए ।
उनले भनेका छन्, ‘अहिले नेपालका ‘कम्युनिष्ट’ मठाधीशहरूले पनि आफ्ना आलोचक र विरोधी नेताहरूलाई पालैपालो स्टालिनकै शैलीमा भौतिक सफाया नगरे पनि राजनीतिक र सांगठनिक सफाया गर्ने बाटो समाउनु इतिहासको ठुलो विडम्बना नभए के होला त ?’
साथै उनले नेतृत्वका कारबाहीमा परेका नेताहरुलाई इतिहासबाट पाठ सिकेर समाजवाद निर्माण र मानव जातिको समग्र उन्नयनको नयाँ वैकल्पिक बाटो खोज्न समेत सुझाएका छन् ।














