काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनावश्यक हस्तक्षेपका कारण स्वास्थ्य संस्थाहरू सङ्कटमा परेको बताएका छन् ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सन् २००० ब्याजका एमबीबीएस विद्यार्थीहरूले शुक्रवार आयोजना गरेको कार्यक्रममा बोल्दै डा.कोइरालाले स्वास्थ्य संस्थाहरूलाई स्वायत्त रूपमा काम गर्न दिनुपर्नेमा जोड दिए ।
उनले राजनीतिक हस्तक्षेपका कारण अस्पताल र स्वास्थ्य संस्थाहरूले प्रभावकारी सेवा प्रदान गर्न नसकेको बताए । प्रतिष्ठानका पूर्वउपकुलपति समेत रहेका डा.कोइरालाले बीपी कोइराला स्वास्थ्य विज्ञानबाट उत्पादित चिकित्सकहरूले जहाँसुकै पुगे पनि उच्च मनोबल र गर्वका साथ उत्कृष्ट कार्य गरिरहेको उल्लेख गरे ।














