Logo
Logo

लागूऔषधविरुद्ध निर्मम रूपमा प्रस्तुत हुनुपर्छ : गृहमन्त्री लेखक


630
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लागूऔषधको उत्पादन, ओसारपसार, भण्डारण र सेवनले समाजमा गम्भीर चुनौती खडा गरेको बताउँदै यसविरुद्ध प्रहरी कर्मचारीहरू निर्मम रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । शुक्रवार लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको निरीक्षण भ्रमणपछि आयोजित कार्यक्रममा प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उनले यस्तो बताए ।

निरीक्षणका क्रममा गृहमन्त्री लेखकले ब्युरोका विभिन्न शाखाहरूको अवलोकन गर्नुका साथै त्यहाँका गतिविधिबारे जानकारी लिए । कार्यक्रममा बोल्दै उनले लागूऔषधको कारोबार र सेवनले समाज, विशेषगरी युवापुस्तामा नकारात्मक असर परिरहेको उल्लेख गर्दै यसको रोकथाम र न्यूनीकरणका लागि व्यापक जनचेतना आवश्यक रहेको बताए ।

नेपाल प्रहरीले सञ्चालन गरेको लागूऔषधविरुद्धको महाअभियान र सचेतनामूलक कार्यक्रमहरूले नियन्त्रण, रोकथाम र न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उनको भनाइ थियो । सीमित स्रोतसाधनका बावजुद ब्यूरोले गरेको कार्यको प्रशंसा गर्दै गृहमन्त्री लेखकले आगामी दिनमा थप सक्रिय, लगनशील र प्रभावकारी ढङ्गले काम गर्न प्रहरीलाई निर्देशन दिए ।

ब्युरोको विकास र स्तरोन्नतिका लागि गृहमन्त्रालय सधैं क्रियाशील रहने उनले प्रतिबद्धता व्यक्त गरे ।कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरीले लागूऔषध नियन्त्रण, रोकथाम र न्यूनीकरणका लागि राष्ट्रिय नीति, कानुन र अन्तर्राष्ट्रिय निकायहरूसँगको समन्वयमा योजनाबद्ध रूपमा काम गरिरहेको बताए । सुरक्षित, स्वस्थ र लागूऔषधमुक्त समाज निर्माणमा प्रहरीको प्रतिबद्धता कायम रहने उनले उल्लेख गरे ।

लागूऔषध नियन्त्रण एउटै निकायको प्रयासबाट सम्भव नहुने भन्दै उनले स्थानीय तह, विद्यालय, परिवार र समाजका सबै सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुबेर खापुङले स्वागत मन्तव्य राखेका थिए भने लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण प्रसाद कोइरालाले ब्युरोको परिचय, जनशक्ति, साधनस्रोत, लागूऔषध अपराधको अवस्था, विश्लेषण, प्रहरी कारबाही, समस्या र चुनौतीबारे प्रस्तुति दिनुभयो । कार्यक्रममा गृहमन्त्रालयका पदाधिकारी, वरिष्ठ प्रहरी अधिकृत, प्रहरी कर्मचारी र सञ्चारकर्मीहरूको उपस्थिति थिए ।

प्रतिक्रिया दिनुहोस्