Logo
Logo

रुसलाई ट्रम्पको चेतावनी- आणविक पनडुब्बीहरू तैनाथ गर्न आदेश दिएको छु


2.4k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक पनडुब्बीहरू तैनाथ राख्न आफूले निर्देशन दिएको बताएका छन् । अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार रुसी सुरक्षा परिषद प्रमुख दिमित्री मेदवेदेवको धम्कीपछि ट्रम्पले रुसलाई यस्तो चेतावनी दिएका हुन् ।

ट्रम्पले आफूले उपयुक्त स्थानमा आणविक पनडुब्बी तैनाथ गर्न निर्देशन दिएको आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘मेदवेदेवको उत्तेजक बयानका आधारमा मैले दुईटा आणविक पनडुब्बीहरूलाई उपयुक्त क्षेत्रहरूमा तैनाथ रहन आदेश दिएको छु ।’

ट्रम्पले रूस र रूसबाट तेल खरिद गर्नेमाथि पनि दण्डस्वरूप भन्सार दर बढाउने भनेर दिएको अभिव्यक्तिको जबाफ दिँदै मेदवेदेवले बिहीबार शब्दमा ध्यान दिन चेतावनी दिएका थिए । उनले ट्रम्पको बोली र व्यवहारले रूस–अमेरिका युद्धलाई एक कदम नजिक लगेको बताएका थिए ।

अमेरिकी मिडिया सीएनएनका अनुसार ट्रम्पले रूसलाई १० दिनभित्र युक्रेनसँग युद्धविरामका लागि सहमत हुन अल्टिमेटम दिएका थिए । त्यसो नभए रूसमाथी भन्सार बढाउने र त्यहाँबाट तेल किन्नेहरूलाई दण्डस्वरूप भन्सार बढाउने चेतावनी दिएका थिए ।

समाचारमा बताइएअनुसार त्यसको जवाफमा रुसी सुरक्षा प्रमुखले भनेका थिए, ‘रूस र रुसबाट तेल खरिद गर्नेहरूलाई दण्डस्वरूप भन्सार लगाउने ट्रम्पको धम्की केवल अल्टिमेटमको खेलमात्रै हो । यस्तो धम्कीले रूस र संयुक्त राज्य अमेरिकालाई युद्धतर्फ एक कदम नजिक लैजान्छ ।’

त्यसपछि ट्रम्प र मेदवेदेवबीच सामाजिक सञ्जाल प्लेटफर्ममा ‘वाकयुद्ध’ हुँदै आएको अन्तर्राष्ट्रि समाचार संस्था रोयटर्सले जनाएको छ । ट्रम्पले मेदवेदेवलाई रूसका असफल राष्ट्रपति समेत भनेका छन् । मेदवेदेव रुसका पूर्वराष्ट्रपति हुन् ।

ट्रम्पले समाजिक सञ्जालमा लेखेका छन्, ‘असफल पूर्वराष्ट्रपति मेदवेदेव अहिले पनि आफूलाई राष्ट्रपति नै ठान्छन् । उसलाई भनिदिनुस्, शब्दमा ध्यान देऊ । ऊ अहिले निकै खतरनाक क्षेत्रमा पाइला टेक्दैछ ।’ त्यसपछि मेदवेदेवले रूससँग सोभियतकालीन हतियार रहेको बताएका थिए ।

‘ट्रम्पले डेड ह्यान्ड कति खतरनाक हुन सक्छ भन्ने कुरा बुझ्नुपर्छ । डेड ह्यान्ड रुसको गोप्य अर्ध–स्वचालित प्रणाली हो’ मेदवेदेवले भनेका थिए, ‘जुन कुनै शत्रुले रुसी नेतृत्वलाई एकैचोटि नष्ट गरिदिए पनि परमाणु मिसाइलहरू आफैले प्रहार गर्न सक्ने हिसाबले डिजाइन गरिएको छ ।’ त्यसपछि नै ट्रम्पले पनडुब्बी तैनाथ राख्न निर्देशन दिएको बताएका हुन् ।

ट्रम्पको अभिव्यक्तिबारे अमेरिकी रक्षा मन्त्रालय र नौसेनाले कुनै प्रतिक्रिया नदिएको समाचारमा जनाइएको छ । तर, विश्लेषकहरूले भने त्यस्ता पनडुब्बीहरू राष्ट्रपति ट्रम्पले नभनेपनि तैनाथ रहने बताएका छन् । अमेरिकी पनडुब्बीहरू प्रायः गोप्य रूपमा राखिने र तिनीहरू कहाँ छन् भनेर सार्वजनिक जानकारी नदिइने पनि ती विश्लेषकहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्