काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेताहरूले पार्टीभित्र विधि, पद्धति र प्रक्रियालाई कडाइका साथ लागू गर्न सुझाव दिएका छन् । शनिवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा नेताहरूले पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन विधि र प्रक्रियाको कडा पालना गर्नुपर्नेमा जोड दिए ।

प्रवक्ता अग्नि सापकोटाका अनुसार सङ्गठन निर्माण, विकास र विस्तारमा योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्ने, शुद्धीकरण र रूपान्तरणका विषयमा विशेष ध्यान दिनुपर्ने र नयाँ विचार संश्लेषण तथा वैचारिक बहसको थालनी गर्नुपर्ने सुझाव आएको छ ।
सापकोटाले बैठकमा सबै विषयमा खुला छलफल भएको र माओवादी पार्टी कुनै पनि हालतमा नफुट्ने स्पष्ट पारे । उनले एकता, सङ्घर्ष र रूपान्तरणको सिद्धान्तअनुसार पार्टी थप एकताबद्ध हुने विश्वास व्यक्त गरे ।
बैठकमा १८ जना स्थायी समिति सदस्य, ५ जना पदाधिकारी र १ जना अनुशासन आयोगका पदाधिकारीले धारणा राखेका थिए । बैठक आइतबार बिहान ११ बजेदेखि पुनः सुरु हुने माओवादीले जनाएको छ ।














