
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र खतरामा रहेको बताएका छन् ।
आइतबार विराटनगरमा मुक्तिप्रसाद यदुनाथ चापागाईँ सम्मान कार्यक्रममा बोल्दै उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठीकसँग नचलेका कारण लोकतन्त्र नै खतरामा परेको बताएका हुन् ।
नेता कोइरालाले लोकतन्त्रको रक्षाका लागि भएपनि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको बताए ।
मुलुकको निर्वाचन प्रणालीका कारण पनि मिलिजुली सरकार बनाउनुपर्ने बाध्यता रहेको भन्दै मिलिजुली सरकार बनाउनै पर्ने बाध्यताकाबीच पार्टीको सिद्धान्त र व्यवहारलाई छोड्न नहुने उनको जोड थियो ।
साथै उनले दुई दल मिलेर बनेको सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नहुँदा जनताले सुशासनको अनुभूति गर्न नसकेको टिप्पणी गरे ।














