काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानुन नल्याइएको बताएका छन् । नेपाल महिला सङ्घले आइतबार मन्त्रालयमा बुझाएको ज्ञापन पत्र बुझ्दै चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानुन ल्याउन नलागेको स्पष्ट पार्दै आफ्ना पनि घरमा छोरीहरू रहेको बताए ।

साथै उनले महिलालाई गाह्रो हुनेगरी कानुन नबनाउने पनि प्रतिबद्धता जनाए । शब्दबाट कुनै गलत अर्थ लाग्ने रहेछ भने त्यो संशोधन गर्न सरकार तयार रहेको बताए ।
उनले भने, ‘बहुविवाहलाई निस्तेज पार्नको लागि जसरी पुरुषलाई कारबाही गर्ने व्यवस्था छ, त्यसैगरी महिलालाई पनि कारबाही हुन्छ । बच्चाको अधिकारको कुरा हो । उसको कुनै गल्ती छैन, उसलाई किन सजाय दिने ? उसको हाडनाता कायम गर्ने की नगर्ने ? पुरुषले नै ढाँटेर गरेको छ भने त्यो महिलाको लागि क्षतिपूर्ति भराउने की नभराउने ? पर्याप्त क्षतिपूर्ति भराउने व्यवस्था संशोधनका लागि गएको छ । बहुविवाहलाई प्रोत्साहन गर्ने गरी होइन । हाम्रो घरमा छोरीबेटी छैनन् ? महिलालाई भोलि गाह्रो हुनेगरी कानुन लगिदिन्छौँ ? शब्दबाट कुनै गलत अर्थ लाग्ने रहेछ भने त्यो पनि हामी संशोधन गर्दछौँ ।’
सरकारले गलत सम्बन्धबाट गर्भ रही जन्मिएको सन्तानको अधिकार सुनिश्चित गर्नका लागि कानुन संशोधन गर्न लागेको जानकारी गराउँदै उनले यसमा पुरुष वा महिला जो कोही दोषी छ उसलाई कारबाही गरिने गरी कानुन बन्ने बताए ।
सरकारले तयार गरेको मस्यौदामा बहुविवाहको विषय नभएको जानकारी गराउँदै उनले भने, ‘गलत सम्बन्धबाट (गलत नै भनौँ, महिलाले पुरुषलाई र पुरुषले महिलालाई ढाँटेको सम्बन्धबाट) गर्भ रहन गएको अवस्थामा त्यो बालअधिकारको लागि कानुनमा संशोधन भएको छ । त्यो संशोधनले वा त्यो संशोधन गर्न नपर्ने हो भने त्यो पनि हटाइदिऊँ । पुरुषले ढाँटेर महिलासँग सम्बन्ध राखेको मात्रै होइन महिलाले पनि ढाँटेर पुरुषसँग सम्बन्ध राखेको भए दुवै कानुनको भागिदार बनाउने गरी कानुन बनाउने हो ।’














