Logo
Logo

सङ्घीय लोकतान्त्रिक मोर्चाको एक महिने जनजागरण अभियान सुरु


756
Shares

काठमाडौं । सङ्घीय लोकतान्त्रिक मोर्चाले काठमाडौबाट एक महिने जनजागरण अभियान सुरु गरेको छ ।  वर्तमान राजनीतिक अवस्थाबारे देशव्यापी रूपमा जानकारी गराउन एक महिने जनजागरण अभियान सुरु गरेको मोर्चाले जनाएको छ ।

The current image has no alternative text. The file name is: jagarn.gif

आइतबार काठमाडौंमा अभियानको शुभारम्भ गर्दै मोर्चा आबद्ध दलका शीर्ष नेताहरूले राज्यले मधेशी, जनजाती लगायत अन्य पछि परेका समुदायलाई उपेक्षा गरेको जनाए ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दलहरूले भनेजस्तो संविधान संशोधन गर्न सहज नहुने बताए । संविधान बनाउनेहरूबाट संविधानप्रति खतरा रहेको उनको भनाइ छ । ठाकुरले मधेशी समुदायहरूले बराबरको अधिकार पाउन नसकेको भन्दै सबै मिलेर राज्यलाई दबाब दिनुपर्ने बताए । 

त्यस्तै, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकमाथि भएको विभेद अन्त्य नभए विद्रोह हुने बताए । उनले सुकुम्वासीका नाममा धेरै खेल भएको भन्दै अहिले पनि आफ्नालाई जग्गा दिनका लागि सरकारले कानुन बनाउन खोजेको आरोप लगाए । यादवले सरकारले जनताको पक्षमा काम गर्न नसकेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए । 

त्यस्तै राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष राजेन्द्र महत्तोले देशलाई साझा नबनाई नेपाल बन्न नसक्ने बताए ।  देशका सबै ठाउँमा बस्ने सबै समुदायको साझा हुने गरी देशलाई अघि बढाउनुपर्ने उनले बताए । उनले सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गर्नुपर्ने बताए । 

सङ्घीय लोकतान्त्रिक मोर्चाले भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुरका साथै भाद्र २२ गते वीरगञ्जमा पुगेर जनजागरण अभियान समापन हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्