
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा केहि बेरअघिदेखि सुरु भएको बैठक अहिले बसिरहेको हो । शुक्रबारदेखि सुरु भएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफसहित आजै समापन गर्ने तयारी छ ।
अध्यक्ष प्रचण्डले जवाफ दिनुअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङले आ–आफ्नो धारणा राख्नेछन् । बैठकमा प्रचण्डको दस्ताबेजमा उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्कीलगायत केही नेताले प्रश्न उठाए पनि अधिकांशले समर्थन जनाएका छन् ।
विशेष महाधिवेशनको प्रस्ताव गरेका उपमहासचिव शर्मालाई बैठकमा बोल्ने सदस्यहरूले आत्मालोचना गर्न सुझाव दिएका छन्। तर, शर्माले आफूलेमात्र होइन अध्यक्ष प्रचण्डले समेत आत्मालोचना गर्नुपर्ने धारणा राखेका छन् ।














