काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले संसद् अवरुद्ध गर्ने वा बहिष्कार गर्ने अभ्यासले जनताका समस्या समाधान नहुने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई संवादमा बस्न आग्रह गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संवाद, प्रतिवाद र सहमतिको माध्यम संसद् नै भएको स्मरण गराए । जनताले चिताएका परिवर्तनहरू संसद्भित्रबाट अघि बढ्नुपर्ने धारणा राखे। ‘संसद् वाद गर्ने ठाउँ हो, प्रतिवाद गर्ने ठाउँ हो, संवाद गर्ने ठाउँ हो, निकास निकाल्ने ठाउँ हो,’ सांसद गैरेले भने, ‘तर अहिले हामी उल्टो दिशामा गइरहेका छौँ । नीति निर्माणको थलोलाई निरन्तर आरोप–प्रत्यारोप र अवरोधले घेरेर जनताको हित हुँदैन ।’
उनले संसद्मा प्रधानमन्त्रीलाई आरोप लगाउने शैली स्वस्थ नभएको बताए । संसद् सबैको साझा थलो भएकाले त्यसलाई प्रभावकारी बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।
सांसद गैरेले सदनमार्फत जनताका जीवनसँग जोडिएका विधेयकहरू अघि बढाउन ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरे । शिक्षा विधेयक, निजामती सेवा विधेयक, प्रहरी सेवा विधेयक जस्ता महत्त्वपूर्ण विधेयकहरू सरोकारवालासँग प्रतिबद्धता जनाए पनि समयमै पास हुन नसकेको उनले स्मरण गराए ।
संसद्मा निरन्तर बहिष्कार, नाराबाजी र अवरोधले एक पक्षलाई दोषी ठहर गर्दै टाउकोमा दोष थोपरेर हिँड्दा समाधान नआउने भन्दै उनले सबै राजनीतिक दलहरूलाई जिम्मेवार हुन आह्वान गरे । गैरेले लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउन केही शक्ति लागिपरेको उल्लेख गर्दै गणतन्त्र पक्षधरहरू एकजुट हुनुपर्ने बेला आएको बताए ।
रास्वपा र राप्रपाले १३ जेठ २०८२ देखि भिजिट भिसा प्रकरणमा छानबिनको माग राख्दै संसद् अवरुद्ध गर्दै आएका छन् । आजपनि यी दुई पार्टीले संसद् बैठक बहिस्कार गरेको छ । प्रतिनिधिसभा बैठक सुरु भए लगत्तै उठेर विरोध जनाएका रास्वपा र राप्रपाका सांसदलाई सभामुखले बोल्न समय दिएपछि आ-आफ्नो भनाई राखेर उनीहरू बाहिरिएका हुन् ।














