काठमाडौं । घर छाडेर ११ दिनअघि पोखरा पुगेको हायु परिवार सिन्धुली फर्किएको छ । गोलान्जोर गाउँपालिका९६ का वडाध्यक्ष रविन श्रेष्ठको पहलमा १९ जना सोमबार सिन्धुली फर्किएका हुन् ।

उनीहरू पुरानो घरमा नबसी वडाध्यक्षको घरमा बस्ने भएका छन् । बिरामी भइरहने भन्दै उक्त घरमा नबस्ने अडान लिएपछि वडाध्यक्षले नयाँ घर बनाउन जग्गा खोज्ने र ऋण तिर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
हायु परिवारको साढे ८ लाख ऋण छ, जसलाई वडाले समन्वय गरेर तिर्ने योजना बनाएको छ । उनीहरूले गाउँपालिकाबाट मासिक ४ हजार रुपैयाँ पनि पाउँदै आएका छन् । साउन ८ मा पोखरा पुगेका उनीहरूलाई प्रहरी र जनप्रतिनिधिले फर्किन अनुरोध गरेका थिए । पोखरा महानगरपालिकाले बस्ने व्यवस्था गरेको थियो ।














