काठमाडौं । सिन्धुलीका खिलबहादुर भुजेललाई भारतमा आकर्षक जागिरको प्रलोभन देखाएर मानव तस्करी गिरोहले मिर्गौला निकालेको खुलासा भएको छ ।

पोखरामा मजदुरी गरिरहेका भुजेललाई भारतीय नागरिकले डेढ महिना अघि होटलमा वेटरको काम लगाइदिने भन्दै भारत पुर्याएका थिए । सिन्धुलीको दुधौली नगरपालिका-१ स्थायी घर भएका खिलबहादुर भुजेलको भारतमा मिर्गौला निकालिएको पाइएको हो ।
त्यहाँ उनलाई कार्यालयमा सरसफाइको काम लगाइयो । घर फर्किन खोज्दा बेहोस बनाएर काठमाडौंको कलङ्कीमा ल्याइयो । कम्मरमा दुखाइ र टाँका देखिएपछि अस्पताल पुग्दा उनको बायाँ मिर्गौला निकालिएको पुष्टि भयो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले घटनाको प्रारम्भिक अनुसन्धान गरी मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाएको छ । ब्युरोका एसएसपी कृष्ण पङ्गेनीले गम्भीरतापूर्वक अनुसन्धान थालिएको बताए । मानव अङ्ग तस्करीमा संलग्नलाई १० वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।














