Logo
Logo

मदन भण्डारी फाउन्डेसनबाटै उदाएका थिए ओली, अहिले देखे ‘ठगी खाने भाँडो’


12.6k
Shares

काठमाडौं । लामो समयदेखि वैचारिक र राजनीतिक हतियारको रूपमा परिचित मदन भण्डारी फाउन्डेसनमाथि (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमै गम्भीर आरोप लगाएका छन् । कुनै समय फाउन्डेसनका प्रमुख संरक्षक रहेका ओलीले यसलाई केही व्यक्तिले ‘ठगी खाने भाँडो’ बनाएको दाबी गरेका छन् ।

सोमबार मदन–आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पार्टीकै नाममा एउटा माक्र्सवादी अध्ययन कक्षा कि माक्र्सवादी–लेनिनवादी अध्ययन कक्ष, कम्युनिस्ट पाठशाला के भनेर बनाएको छ। यही भक्तपुरको कहाँनेर राखेको छ । त्यत्तिकै व्यक्तिगत बनाएको छ। एउटा व्यक्तिको हो कि परिवारको श्रीमान्–श्रीमतीको संस्था हो कि ? आन्दोलनको निम्ति काम गर्छ कि ? त्यो एउटा ठगी खाने भाँडो भएको छ। त्यो पार्टीका नाममा बनाइएको संस्था हो ।’

पदमा बसिरहेर संस्थालाई नै माध्यम बनाएर त्यहाँ काम गर्नेहरूलाई आफ्ना समर्थकको रूपमा देखाएर संस्थालाई आफ्नो नियन्त्रणमा राखिरहेको बताए । मदन भण्डारी फाउन्डेसनका नेतृत्वकर्ताहरूले विकृतिपूर्ण लेखहरू प्रकाशित गरेर स्मृति दिवस मनाउन र श्रद्धाञ्जली सभा गर्न नपाइने स्थिति बनाएपछि मदन–आश्रित स्मृति प्रतिष्ठान बनाएको ओलीको भनाइ थियो।

मदन–आश्रित स्मृति प्रतिष्ठान पार्टी र आन्दोलनप्रति निष्ठाका साथ जन्मेको दाबी गर्दै उनले भने, ‘यति हो– मदन भण्डारीका विचारसँग असहमत रहेर पाखण्डी व्यवहार देखाउनेहरूको ग्रिपमा नगएको मात्रै हो ।’

मदन भण्डारी फाउन्डेसनका पदाधिकारी र चक्रपथ अनलाइनको प्रस्तुति हेर्दा उक्त फाउन्डेसनको भविष्य अन्योलमा रहेको ओलीले चेतावनी दिए । उनले भने, ‘अब त्यसको आगामी दिनमा कसरी जान्छ भन्ने कुरा हेर्नुपर्ने अवस्था बनेको छ। त्यसका पदाधिकारीहरूका अभिव्यक्ति, चक्रपथ भन्ने अनलाइनको प्रस्तुति आदि हेर्दा कसरी जाने भन्ने कुरा अन्योलमा छ ।’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रत्यक्ष संरक्षणमा रहेको यो फाउन्डेसन कुनै समय ओलीको राजनीतिक शक्तिको मुख्य आधार थियो । पार्टीभित्र माधवकुमार नेपाल र झलनाथ खनालसँग गुटगत प्रतिस्पर्धा हुँदा उनले यसलाई समानान्तर शक्तिकेन्द्रका रूपमा विकास गरेका थिए । पार्टी संरचनामा आफ्नो पकड कमजोर हुँदा उनले यही फाउन्डेसनमार्फत देशभर विचार र सञ्जाल विस्तार गरे ।

‘जनताको बहुदलीय जनवाद’ सम्बन्धी गोष्ठी, प्रकाशन र विभिन्न कार्यक्रमहरू ओलीको राजनीतिक लाइन स्थापित गर्ने माध्यम बने । जिल्ला तहसम्मका संरचनामा उनका विश्वासपात्रहरू भर्ना भएका थिए, जसले पार्टीभित्र उनको पकड मजबुत बनायो ।

विद्या भण्डारी राष्ट्रपति भएपछि उनको संरक्षणले फाउन्डेसनलाई थप वैधता र स्रोतसाधन उपलब्ध गरायो, जसको अप्रत्यक्ष लाभ ओलीलाई नै पुग्यो । तर, विद्या भण्डारीले दोस्रो कार्यकालपछि सक्रिय राजनीतिमा फर्कने संकेत दिएपछि यो सम्बन्धमा दरार सुरु भयो। फाउन्डेसन भण्डारीको राजनीतिक पुनरागमनको मञ्च बन्दै गयो ।

फाउन्डेसनका पदाधिकारीहरू, जो पहिले ओलीसँग नजिक थिए, अब भण्डारीको आकांक्षामा साथ दिन थाले । यसले ओलीलाई आफ्नो राजनीतिक लगानी र हतियार नै आफूविरुद्ध प्रयोग भएको महसुस गरायो ।

यसै पृष्ठभूमिमा ओलीले फाउन्डेसनलाई ‘ठगी खाने भाँडो’को संज्ञा दिए । यसबाट उनले फाउन्डेसनको स्थापनाको मूल उद्देश्य (आफ्नो गुट सुदृढ पार्ने) र अहिलेको कार्यशैली (आफूविरुद्ध प्रयोग हुने) बीचको विरोधाभासलाई उजागर गरे । यो उनको राजनीतिक ‘नोस्टाल्जिया’ मात्र नभई, फाउन्डेसनमाथिको ऐतिहासिक स्वामित्वको दाबी र वर्तमान नेतृत्वप्रतिको गहिरो असन्तुष्टिको अभिव्यक्ति पनि हो ।

यो केवल फाउन्डेसनको नियन्त्रणको लडाइँ मात्र नभई, एमालेको भविष्यको नेतृत्व र शक्तिको विरासत कसले सम्हाल्ने भन्ने संघर्षको प्रतिबिम्ब हो । भण्डारीले राष्ट्रपतिबाट अवकाश लिएपछि पार्टी नेतृत्वमा दाबी गर्ने संकेत दिँदै फाउन्डेसनमार्फत देशव्यापी सञ्जाल विस्तार गरिरहेकी छन् । यसले ओलीलाई प्रत्यक्ष चुनौती दिएको छ । फाउन्डेसनमा आफ्नो पकड कमजोर भएको महसुस गरेपछि ओलीले यसलाई बदनाम गर्ने प्रयास गरेको देखिन्छ ।

यो विवादले एमालेलाई एउटा निर्णायक दोबाटोमा उभ्याएको छ । यसको समाधानले पार्टी एकताबद्ध भएर अघि बढ्छ वा आन्तरिक कलहमै फस्छ भन्ने निर्धारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्