Logo
Logo

मितेरी सहकारी ठगीः रकम तिर्छु भन्दै ‘रोइकराइ’ गर्थे धनराज, सत्ताको आडमा पाए उन्मुक्ति


2k
Shares

काठमाडौं । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको अर्बौँ ठगी प्रकरणमा सरकारी वकिलको कार्यालयले २०२ पृष्ठ लामो अभियोगपत्र दायर गरेको छ ।

उक्त प्रकरणमा नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङको नाम पटक–पटक उल्लेख भए पनि उनलाई प्रतिवादी बनाइएन र अन्ततः उन्मुक्ति दिइएको छ ।

ललितपुर जिल्ला अदालतमा दर्ता गरिएको मुद्दामा आठ जनालाई मात्र प्रतिवादी बनाइएको छ । तर, अभियोगपत्रमा धनराजको नाम बारम्बार देखिन्छ ।

२०५७ सालतिर धनराज गुरुङले आफ्नी पत्नी ज्योति गुरुङलाई मितेरी सहकारीमा रोजगारी दिलाएका थिए । सहायक स्तरको सामान्य कर्मचारीबाट सुरु गरेकी ज्योति क्रमशः अकाउन्टेन्ट, सिनियर अकाउन्टेन्ट हुँदै महाप्रबन्धक बनेकी थिइन् । यससँगै सहकारीको सम्पूर्ण आर्थिक र व्यवस्थापकीय नियन्त्रण उनको हातमा पुगेको थियो ।

करिब दुई महिना लामो अनुसन्धानपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले प्रतिवेदन बुझायो । तर सो प्रतिवेदनकै आधारमा धनराज उम्किए ।

सहकारीको रकम अपचलन हुँदा महाप्रबन्धकको भूमिकामा ज्योति गुरुङ नै थिइन् । रकम गायब भएको थाहा पाएपछि धनराज आफैं उपस्थित भएर श्रीमतीले लगेको रकम तिर्ने प्रतिबद्धता जनाएका थिए भन्ने कुरा अभियोगपत्रमा उल्लेख छ । तर पछि उनले श्रीमतीसँग डिभोर्स भएको र त्यसपछि आफू जवाफदेही नभएको दाबी गरे ।

अभियोगपत्रमा भने धनराजकै संलग्नता शंकास्पद देखिएको उल्लेख छ । श्रीमतीले रकम अपचलन गर्दा थाहा हुनु, आफैं रकम तिर्छु भन्नु, तर पछि सम्पर्कमै नआउनु, डिभोर्सपछि पनि उनीहरुसँगै अमेरिकासम्म बसेको वा यात्रा गरेको विवरण सार्वजनिक हुनु, र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि फारममा ज्योतिलाई ‘श्रीमती’ भनेर उल्लेख गर्नु सबै प्रमाणहरू उन्मुक्ति पाउनु विपरीत देखिन्छन् ।

२०७६ पुस १६ मा ललितपुरको मगर समाज सेवा केन्द्रमा भएको बैठकमा धनराजले रकम तिर्छु भन्ने मौखिक प्रतिबद्धता गरेको सहकारीका अध्यक्ष कुम्भराज राईले समेत बयान दिएका छन् । त्यतिबेला धनराजले छोरा अष्ट्रेलियामा पढ्न गएका कारण कामसँगै कमाइ भएपछि रकम तिर्छु भन्दै रोइकराइ समेत गरेको विवरण अभियोगपत्रमा छ । तर, रकम कहिल्यै फिर्ता भएन ।

पछिल्लो चरणमा भने उनले रकम तिर्छु नभएको, बरु सहकारीकै गल्ती रहेको दाबी गर्दै बयान दिएका छन् । आफू पनि सहकारीको सदस्य रहेको र आफ्नो सम्पूर्ण ऋण चुक्ता गरेको उनले दाबी गरेका छन् ।

यति हुँदाहुँदै पनि किन धनराज उन्मुक्त भए भन्नेबारे अभियोगपत्रमा स्पष्ट खुलाइएको छैन ।

अभियोगपत्रले भने सहकारीको ठगी रकम भारत, सिंगापुर, थाइल्यान्ड र क्याम्बोडियासम्म पुर्याउने अन्तर्राष्ट्रिय नेटवर्कको समेत पर्दाफास गरेको छ । प्रदीप उर्फ प्रितम अधिकारी, ‘सरोज भाइ’, ‘राज किशोर मामा’, ‘सुशिल उर्फ दुबे’मार्फत करोडौँ रकम विदेश पुर्याइएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्