Logo
Logo

डाउन पिलुवाखोला जलविद्युत् सिटिजन्स, इन्भेष्टमेन्ट र प्रभु बैंकले लगानी गर्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । रिभर फल्स् पावर लिमिटेडद्वारा प्रवद्र्धित संखुवासभा जिल्लाको धर्मदेवी र चैनपुर नगरपालिकास्थित डाउन पिलुवाखोला जलविद्युत् आयोजनाको निर्माणको लागि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अगुवाइमा नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंक सहभागी सहवित्तीयकरणमार्फत लगानी जुटाइएको छ ।

परियोजनाको अनुमानित लागत करीब रु. १ अर्ब ८९ करोड ४० लाखमा बैंकहरुले ७०ः३० को ऋणः स्वपूँजी अनुपातमा रु. १ अर्ब ३२ करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये, सिटिजन्स बैंकबाट रु. ६५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकबाट रु. ४२ करोड र प्रभु बैंकबाट रु. २५ करोड लगानी हुनेछ भने ३०५ स्वपूँजी प्रवद्र्धकहरुबाट जुटाइने छ ।

कम्पनीले यस आयोजना साढे दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ । निर्माण सम्पन्नपश्चात उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको चैनपुरको बानेश्वरस्थित सबस्टेशनमा जोडिने छ । आयोजनाबाट वार्षिक ५७.६८५ गिगावाट घण्टा विद्युत् उत्पादन हुन्छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ५० गिगावाट घण्टा र बर्खामा ७.६८५ गिगावाट घण्टा विद्युत उत्पादन हुन्छ ।

सम्झौता हस्ताक्षरका अवसरमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले कोरोना भाइरसका कारण सिर्जित कठिन समयमा परियोजनाको वित्तीय व्यवस्थापन समापन गर्नु ठूलो उपलब्धि रहेको जनाए । सहभागी सबै बैंकहरुलाई आभार व्यक्त गर्दै प्रवद्र्धकहरुलाई थप उत्साहका साथ कार्य अगाडि बढाउन पोखरेलले अनुरोध गरेका थिए ।

कम्पनीको तर्फबाट कार्यकारी निर्देशक सुभाष अमात्यले सबै बैंकहरुलाई विशेष धन्यवाद दिँदै आयोजनाको निर्माणकार्यमा राम्रो प्रगति हासिल गरिसकेको जानकारी गराए र परियोजना समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्