काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नहुने प्रष्ट पारेका छन् । शनिवार प्रेस चौतारीको केन्द्रीय कार्यालयमा आयोजित आगामी विधान महाधिवेशनसम्बन्धी अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले पार्टीले संस्थागत निर्णयमार्फत प्रणाली स्थापित गरिसकेकाले भण्डारीको सदस्यता नवीकरणको विषय उठाउनु आवश्यक नरहेको बताए ।

उनले राष्ट्रपति र उपराष्ट्रपति जस्ता गरिमामय पदमा पुगेका व्यक्तिहरूले पार्टीमा आबद्ध हुनुभन्दा देशको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । संविधानको धारा ६२, उपधारा ६ मा राष्ट्रपति वा उपराष्ट्रपतिमा निर्वाचित भएपछि सबै पदबाट स्वतः मुक्त हुने व्यवस्था रहेको उल्लेख गर्दै ज्ञवालीले भण्डारीको पार्टी सदस्यता त्यही बेला निष्क्रिय भएको स्पष्ट पारे ।
पार्टी अहिले जटिल परिस्थितिबाट गुज्रिरहेको बताउँदै ज्ञवालीले यस्तो अवस्थामा बलियो नेतृत्व आवश्यक रहेको र त्यो नेतृत्व केपी शर्मा ओलीले मात्र दिन सक्ने दाबी गरे । उनले ओलीको नेतृत्वमा पार्टीले वर्तमान चुनौतीहरूको सामना गर्न सक्ने विश्वास व्यक्त गरे ।
आगामी असोज २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनमा २,३५० प्रतिनिधि सहभागी हुने र मतदान आवश्यक भएमा दशौँ महाधिवेशनका २,०३३ प्रतिनिधिले मतदान गर्ने उनले जानकारी दिए ।














