धरान । चाडपर्वलाई लक्षित गरी सुरक्षा सतर्कता र समन्वय प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयमा प्रथम बाहिनी सुरक्षा सम्मेलन सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी प्रवक्ता एसएसपी सुधीर जङ्ग थापाका अनुसार सम्मेलनमा कोसी प्रदेशको शान्तिसुरक्षा अवस्था, सम्भावित चुनौती, सीमावर्ती गतिविधि, आपराधिक क्रियाकलाप, बढ्दो सवारी दुर्घटना र चाडपर्वमा देखिनसक्ने जोखिमबारे छलफल गर्दै समन्वयात्मक सुरक्षा रणनीति निर्माण गरिएको छ ।
आयोजित समापन कार्यक्रममा सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी मुख्यालयका बाहिनीपति एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले प्रशासनिक तथा अपरेशनल कार्यक्षमताको सुदृढीकरण, सीमा सुरक्षामा उच्च सतर्कता, युनिट व्यवस्थापनमा पारदर्शिता र चाडपर्वलाई लक्षितगरी त्रुटिरहित सुरक्षा रणनीति अपनाउन मातहत इकाइहरूलाई निर्देशन दिए।
उहाँले चाडपर्व नजिकिँदै गर्दा भीडभाड, चोरी–डकैती, सवारी दुर्घटना न्यूनीकरण, तालिम व्यवस्थापन तथा कल्याणकारी सेवा प्रवाहमा थप सुधार गर्न आवश्यक रहेको उल्लेख गरे ।
सम्मेलनमा कोसी प्रदेशभरका १४ वटै जिल्लामा कार्यरत सशस्त्र प्रहरी बलका सात गण, सात गुल्म, दुई आश्रित गुल्म, एक मुद्दती तथा सेवा गुल्म तथा १० प्रस्तावित सीमासुरक्षा गुल्मका प्रमुखको सहभागिता रहेको थियो ।














