टक्सार, भोजपुर । आधुनिक प्रविधिको विकास र पठन संस्कृतिमा आएको कमीका कारण भोजपुरका ऐतिहासिक पुस्तकालयहरू अस्तित्व संकटमा छन् ।

राणाकालमा स्थापना भएका श्रीराम अमर पुस्तकालय र श्री अमर सहिद पुस्तकालय आर्थिक समस्या, भवन अभाव र भूकम्पीय क्षतिका कारण नियमित सञ्चालनमा कठिनाइ भोगिरहेका छन् । विसं २०२३ मा दुवैलाई एकीकृत गरेर श्रीराम अमर सहिद पुस्तकालयका रूपमा सञ्चालन भए पनि जीर्ण बनेको भवन पुनःनिर्माण नहुँदा समस्या अझै कायमै छ ।
ई–लाइब्रेरी सञ्चालनका लागि कम्प्युटर उपलब्ध भए पनि भवन नहुँदा प्रविधिको प्रयोग गर्न सकिएको छैन । पुस्तकालयले विगतमा साहित्यिक गोष्ठी, सांस्कृतिक पर्व र प्रकाशनमार्फत सक्रिय भूमिका खेले पनि अहिले नियमित गतिविधि घट्दै गएको छ ।
हाल पुस्तकालयमा छ हजारभन्दा बढी पुस्तक रहेका छन् । त्यस्तै, जनहित पुस्तकालय पाठकको अभावमा बन्द भएको छ भने हतुवागढी सार्वजनिक पुस्तकालयको व्यवस्थापन र पठन संस्कृतिबारे छलफल हुँदै आएको छ ।














