Logo
Logo

एकीकृत बस्ती विकास गरिने मुख्यमन्त्री भट्टको आश्वासन


- दृष्टि न्युज/संवाददाता


नन्दा थापा/बाजुरा १९ भदौ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले वर्षेनी बाढीपहिरोको समस्या भोग्न बाध्य जनताका लागि एकीकृत बस्ती विकास योजना सहित पुनःस्थापना गर्न पहल गर्ने बताएका छन् ।

बाजुराको बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन र पीडित परिवारलाई राहत हस्तान्त्रण गर्न बाजुरा पुगेका मुख्यमन्त्री भट्टले पाखो अनि भिरालो जमिनमा बस्ने जनताको सधंैको समस्या अन्त्य गर्न प्रदेश सरकार लागिपरेको बताएका छन् । बाजुरा अछामसहितका पहाडी जिल्लामा वर्षेनी हुने बाढीपहिरोको जोखिम कम गर्ने गरी एकीकृत योजना अघि बढाउने र पीडित परिवारका लागि दिगो व्यवस्थापन र बस्ती विकासका लागि एकीकृत योजनासहित काम अघि बढाउने तयारी प्रदेश गरेको बताएका छन् ।

बाजुराको मार्तडीस्थित समरजीत गुल्ममा सरोकारवाला निकाय र पीडित परिवारका आफन्तसँग कुरा गर्दै मुख्य मन्त्री भट्टले प्रदेश सरकारले योजना बनाउने र कार्यान्वयनका लागि संघीय सरकारसँग आवश्यक बजेट व्यवस्थापनका लागि पहल गर्ने बताएका छन् । राहत तत्कालको गुजाराका लागि मात्र हुने भएकाले प्रदेश सरकार यसैमा सीमित नहुने बताएका छन् । राहत तत्कालको समस्या समाधान गर्नका लागि हो, हामी गुणस्तरीय जीवनका लागि एकीकृत बस्ती विकास गर्ने योजनामा रहेको जानकारी गराएका छन् ।

त्रिवेणी नगरपालिका, बुढीननन्दा नगरपालिकाको बाढी पहिरो प्रभावित क्षेत्र र पीडित परिवारका व्यक्तिहरुलाई भेटेका मुख्यमन्त्री भट्टले मृतकका आफन्तलाई एक÷एक लाखको चेकसमेत हस्तान्त्रण गरेका छन् । बाजुरामा ६ जनाको मृत्यु भएको छ भने ९१ परिवार पूर्णरुपमा विस्थापित बनेका छन् ।

मुख्यमन्त्री भट्टले प्रदेश सरकार बाजुराको विकास र समृद्धिका पक्षमा रहेको र यहाँका जनताको पीडामा पनि प्रतिबद्ध र जिम्मेवार ढंगले सहयोग गर्ने बताएका छन् । बाढी आएको करिब महिना दिनपछि हेलिकोप्टरसहित बाजुरा पुगेका मुख्यमन्त्री भट्टलाई बडिमालिका नगरपालिकाकातर्फबाट नगरप्रमुख पदम बडुवालले बस्ती विकास, राहत तथा क्षतिपूर्तिका लागि प्रबन्धक मिलाउन मागसहित ज्ञापनपत्र बुझाएको छ ।

समरजीत गुल्ममा भएको छोटो छलफल कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले बाजुरावासीको दुःख र पीडामा सदैव साथमा रहेको बताएका छन् । प्रदेश सरकार र मुख्यमन्त्री यसमा प्रतिबद्ध रहेको र एकीकृत बस्ती विकास योजना नै अघि सार्नुपर्नेमा मन्त्री शाहले जोड दिएका छन् ।

अछाम हुँदै बाजुरा पुगेको टोलीमा मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह, राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, प्रदेशसभा सदस्य दीर्घ सोराडी, प्रेस संगठनका प्रदेश संयोजक रामसिंह ठगुन्ना, टेलिभिजन कार्यक्रम इन्द्रेणी समूहका सञ्चालक कृष्ण कँडेलसहित सहभागि थिए ।

कँडेलले बाजुरामै करिब ४ लाख बढी पीडितहरुलाई नगद राहत सहयोग गरेका छन् । कँडेलको समूहले पनि मुख्यमन्त्रीबाटै सहयोग रकम हस्तान्तरण गरेका हुन् । मुख्यमन्त्रीलाई कोल्टीमा पनि नागरिक समाजले बाढीपहिरो र सडकको विषयलाई सम्बोधन गर्न मागसहित ज्ञापन बुझाएको छ ।

त्रिवेणी र बडिमालिका  बूढीनन्दामा ५०/५० परिवारलाई राहतसहित ७ जना मृतकलाई ७ लाख सरकारका तर्फबाट र ७ जनालाई ४० हजारका दरले कृष्ण कँडेलको टीमले नगद सहयोग गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताएका छन् । अधिकारी गैह्रेले नै जिल्लाको अवस्थाकाबारे मुख्यमन्त्रीको टिमलाई जानकारी गराएका थिए ।

यसअघि संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा नेतृत्वमा रहेको नेकपा प्रदेश अध्यक्ष कर्णबहादुर थापा, संघीयसभा सदस्य लालबहादुर थापा, प्रदेशमन्त्री प्रकाश शाह सहितको टोलीले भदौ २ गते गौमुलको सिम, बडीमालिकाको घागर र बुढीगंगाको ताँप्रीसेरा सहित क्षेत्रको अनुगमन तथा राहत वितरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्