Logo
Logo

कोरोना संक्रमणबाट रुपन्देहीमा तीनको मृत्यु


- दृष्टि न्युज/संवाददाता


बुटवल, १९ भदौ । रुपन्देहीमा कोरोना संक्रमणका कारण शुक्रबार तीन जनाको मृत्यु भएको छ । बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचाररत महिला,लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत पुरुष र भैरहवामा होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु भएको हो ।

मुटु अस्पतालमा उपचाररत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.७ कि ६४ वर्षीया महिलाको शुक्रबार बिहान ८ः४५ बजे मृत्यु भएको हो । भदौ ४ गते मुटु अस्पतालमा भर्ना भएकी उनमा भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उच्च रक्तचाप, मधुमेह, मृगौला रोग र निमोनियाको समस्या देखिएपछि वृद्धालाई भदौ ४ गतेदेखि नै आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचार गरिउको थियो । कोरोना संक्रमण पुष्टि भएपछि पनि बिरामीको भेन्टिलेटरमै उपचार भइरहेको अवस्थामा शुक्रबार बिहान मृत्यु भएको अस्पतालले विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

यस्तै सिद्धार्थनगर नगरपालिका वडा नं ८ का ४५ वर्षका पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ । चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन गएका बेला ४ दिनअघि कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष राजनजंग राणाले जानकारी दिए । स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहका अनुसार उनी मिर्गौलाका बिरामी पनि थिए र शुक्रबार डायलासिस गराउन अस्पताल ल्याउने तयारी गरिरहँदा उनको घरमै मृत्यु भएको हो ।

यसअघि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ८ का ७८ वर्षीय पुरुषको उपचारका क्रममा बिहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
उनलाई यही भदौ ४ गते कोरोना पुष्टि भए पनि नौ दिनअघि मात्र अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पतालका अनुसार उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो । योसंगै रुपन्देहीमा शुक्रबारसम्ममा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्