Logo
Logo

नेपाल रेडक्रस रेडक्रस दिवस मनाइयो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० भदौ । ‘ताली बजाउनुहोस्’ भन्ने नाराका भदौ १९ गते नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को ५८ औँ स्थापना दिवस मनाइएको छ । विसं २०२० भदौ १९ गते रेडक्रस अभियानको अंगको रूपमा नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको थियो ।

सोही उपलक्ष्यमा मानवीय सेवार्थ खटिने स्वयंसेवकहरूको सम्मान, रक्तदान शिविर, रेडक्रसका गतिविधिका बारेमा अन्तत्र्रिmया, अस्पतालका विरामीलाई फलफूल वितरण, फोटो तथा सिर्जना प्रतियोगिताजस्ता गतिविधि संयोजन गरी साप्ताहिक (भदौ १४ देखि भदौ २० सम्म) यो दिवसका कार्यक्रम देशभर आयोजना भएका छन् । रेडक्रसका प्रदेश, जिल्ला शाखा र युवाहरुले विभिन्न कोभिड–१९ को विषयमा चेतनामूलक गतिविधि, प्रतियोगिताजस्ता गतिविधि अनलाइन गतिविधिमा जोड दिई वा भौतिक दूरी कायम राखी आयोजना गरिरहेका छन् ।

केन्द्रीय कार्यक्रमको रुपमा हिजो १६० रेडक्रसकर्मीको सहभागितामा सञ्चालित कार्यक्रममा नेरेसोका अध्यक्ष डा नेत्र तिम्सिनाले अग्रपंतिका स्वयंसेवकहरुको र समुदायका मानिसहरुमा नेरेसोका कार्यक्रमबाट आएको प्रभावको कथाहरुको संगालो सार्वजनिक गरिएको छ । सो कथाका पात्र खोटाङका रेडक्रसकर्मी लोकमाया थापाले भनिन् ‘मनोसामाजिक सहयोगका सत्रहरु सेना, प्रहरी तथा समुदायमाझ प्रभावकारी भएको र आफ्नो पनि आत्मबल बढेको छ ।’ त्यस्तै किरण सेढाईँले गाउनुभएको कोभिड विरुद्धको प्रचारात्मक अभियान सहयोगी हुने अडियो गीत ‘हात धुनु ल…’ सोसाइटीका महामन्त्री पीताम्बर अर्यालले सार्वजनिक गरे । कार्यक्रममा रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) र रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघको नेपाल कार्यालयका कार्यबाहक प्रमुख, साझेदारहरुका प्रतिनिधि क्रमशः कृष्णचन्द्र चालिसे हार्भे गजेउ र नुरियाले शुभकामना सन्देश दिएका थिए । नेपाल रेडक्रसका उपाध्यक्षद्वय डा. विश्वकेशर मास्के, शर्मिला कार्कीलगायत पदाधिकारी तथा सदस्यहरुले मन्तव्य राखेका थिए ।

यसैक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष र महामन्त्रीले दिवसको सन्दर्भमा शुभकामना जारी गर्दै सन्देशमा भनिएको छ, ‘सबैको रेडक्रस, सिद्धान्तनिष्ठ सञ्जाल’ भन्ने रेडक्रसकर्मीहरू र आम जनसमुदायको सदिच्छा पूरा गर्नेतर्फ चालिने कदमहरूमा सबैको सदभाव, साथ र सहयोगको अपेक्षा हामीले गरेका छौँ ।’

हाल नेपाल रेडक्रसका एक हजार ५३७ उपशाखा, ७७ जिल्ला शाखा, सात प्रदेश समिति र एक केन्द्रीय समिति रहेका छन् भने चार हजार ५०३ जुनियर सर्कल, समुदाय र उच्च शिक्षालायमा समेत गरी एक हजार ७५२ युवा सर्कल गरी आठ हजारभन्द बढी निकायहरूमा दुई लाख २४ हजार वैधानिक वयस्क सदस्य मुलतः उपशाखा तथा जिल्ला शाखामा र आठ लाख ५२ हजार जुनियर तथा युवा सदस्यहरू विभिन्न शैक्षिक संस्थाहरूमा आवद्ध रहेका छन् ।

दिवसकै अवसरमा ७७ वटै जिल्ला शाखा र प्रदेश कार्यसमितिसँगको श्रृंखलाबद्ध अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेरेसोका अध्यक्ष डा. नेत्र तिम्सिनाले भने ‘नेपाल सरकारले अहिले केन्द्रीय तदर्थ समितिलाई दिएको कार्यादेश बमोजिम संस्थालाई थप सुदृढीकरण गर्नेतर्फ हामी प्रतिवद्ध छौँ । यो भनेको संस्थालाई वैधानिक र कानुनी आधार प्रदान गर्ने र सहज नेतृत्व हस्तान्तरणको लागि निर्वाचन गर्ने हो ।’

यसै अवसरमा आयोजित रेडियो परिसंवाद कार्यक्रममा नेरेसोका महामन्त्री पीताम्बर अर्यालले आन्तरिक सशस्त्र संघर्ष, प्राकृतिक विपत्ति वा शान्ति सबै परिस्थितिमा विगत ५८ वर्षदेखि क्रियाशील नेपाल रेडक्रसले धेरै कालखण्ड पूरा गरी अहिलेको अवस्थामा आइपुगेको बताए । उनले भने, ‘पारदर्शी, जवाफदेही, मितव्ययी र सक्षम संस्थाको रुपमा नेरेसोलाई विकास गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्