Logo
Logo

रोकिएनन् जुम्लामा धार्मिक मेला, बढ्यो कोरोना जोखिम


- दृष्टि न्युज/संवाददाता


कर्णाली, २० भदौ । कर्णालीमा कोरोना महामारीको जोखिम बढ्दै गएपछि नियन्त्रणमा लिन सकस भएको छ । पछिल्लो समयमा जुम्ला जिल्ला यसबाट बढी प्रभावित भएको छ । कोरोना सङ्क्रमितको संख्या बढ्दो अवस्थामा पुगेपछि जिल्लामा तीन दिनदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारीसहित त्यहाँका उद्योग व्यवसायी, सरकारी तथा गैरसरकारी संघसंस्थामा कार्यरत कर्मचारी गरी सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अहिले जुम्लामा त्रास फैलिएको छ ।

जिल्ला प्रशासनका कार्यालयले यसअघि नै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट जिल्ला समन्वय समितिसहित यहाँका आठैवटा स्थानीय तहका जनप्रतिनिधि, प्रहरी र नागरिकलाई विभिन्न ठाउँमा हुने अनावश्यक भेला, जमघट, भिडभाडलाई रोक्न अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए ।“जिल्लामा कोरोना सङ्क्रमणको अवस्थालाई भयावह हुन नदिन र नागरिकको जीउधनको सुरक्षा गर्न निषेधाज्ञा जारी गरिएको छ”, उनले भने, “मास्क लगाउन, अनावश्यक भिडभाड नगर्न र भौतिक दूरी कायम गरी घरायसी कामकाज गर्न अनुरोध गर्दा पनि नागरिकहरु अनुशासित भएको पाइएको छैन ।”

यद्यपि प्रशासन कार्यालयले गरेको निर्देशन र स्थानीयस्तरमा आफूहरुले दिएको सुझाव यहाँका नागरिकहरुले वास्ता नगरेको तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढाले जानकारी दिए । उनले भने, “यस महामारीमा कुनै पनि भीडभाड, जमघट र पैठ (मेला) नगर्न भनेर प्रेस विज्ञप्ति, सचेतनाका कार्यक्रमका साथै सूचना जारी गरिएको छ तर पनि यस्ता कार्यहरु रोकिएका छैनन् ।”

साविकको कर्णालीमा मष्टो मान्ने संस्कृतिले कोरोना सङ्क्रमणको प्रकोपमा पनि यहाँका नागरिकहरु संयमित भएको पाइँदैन । जिल्लाको तातोपानी, तिला, हिमा गाउँपालिकाका विभिन्न स्थानमा रहेका थानमा (मन्दिर) दैनिक पैठ (मेला) रोकिएनन् । यस समयमा सबैभन्दा बढी पैठ हिमा गाउँको जोगीवाडा, बाँजागाड, मच्च, ऐडावाडा, बड्की र देवारगाउँमा लागेको जनाइएको छ ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले कोरोनाको प्रकोपमा थान (मन्दिर) पुजारीलाई सामान्य पूजाआजा गर्न भनिए पनि मेला लगाएका अनावश्यक मान्छेको भीड गरेको बताए । प्रेस विज्ञप्ति जारी गरेर सूचनाका साथै निर्देशन नमाने कारवाही गर्ने चेतावनी दिइएको उनले जानकारी दिए । प्रशासनले भेला, गोष्ठी नगर्न, भौतिक दूरी कायम गर्न, धार्मिक मेला नगर्न अनुरोध गरेको छ । यद्यपि पछिल्लो समयमा कोरोना सङ्क्रमणका कारण धार्मिक मेला बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धाँमीले जनशक्ति नै कमी भएकाले धार्मिक गतिविधि नियन्त्रण ल्याउन नसकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्