Logo
Logo
कथा

मृत्युको पीडा


कृष्णमणि पराजुली

3.7k
Shares

चकमन्न रातको समय । बिरानु मुलुकको बसाई । छोराछोरी र दम्पती गरी चार जनाको परिवार

मुलुक बाहिरको बसाई त्यति सजिलो कहाँ हुन्छ र ? सबै कुरा खोज्नु र बेसाउनु नै पर्दछ । आफ्नो चिज र आफ्नोपन भन्ने नै केही हुँदो रहेनछ मुलुक बाहिर । गोजी दरो भए सबै चिज सहज हुँदा रहेछन् । अन्यथा सबै नै लथालिङ्ग । त्यसमा पनि काम गर्न नपाउने विद्यार्थी । अध्ययन मात्र गर्नु पर्ने । विश्वविद्यालयले जति दिन्छ त्यसैमा गुजारा चलाउनु पर्ने बाध्यता । यसरी जीवन निर्वाह चलिरहेछ भुवनेश्वरीको ।

मध्य रातमा अनौठो आवाजमा मोबाइलमा घण्टी बज्दछ । किन सधैँको जस्तो छैन आवाज मोबाइलको अनौठो लाग्छ उनलाई । लगातार घण्टी बजिरहन्छ फरक किसिमले । भुवनेश्वरीलाई आश्चर्य लाग्दछ– मोबाइलमा यस्तो आवाज कहिल्यै आएको थिएन । नराखेको साउण्ड बेजोडसँग कानै खाने गरी बजिरहन्छ । कताकता भुवनेश्वरीको मनले ठाउँ छोडेको हुन्छ । आज कुनै नराम्रो समाचार आउँदै छ । घर परिवारमा कुनै विग्रह हुँदै छ । अर्थात् कुने अशुभ लक्षण निम्तिँदै छ ।

साँच्चै नै उनको अनुमान सत्यमा परिणत भएको हुन्छ । भाइ सरोजको फोन आएको रहेछ । सरोज बोल्न सक्दैन । उसको मुखबाट आवाज निस्कँदै निस्किँदैन । केवल मुख र मोबाइलको सम्बन्ध मात्र जोडिएको हुन्छ आवाज विहीन भएर ।

दिदी भुवनेश्वरीले किन नबोलेको भनेर पटकपटक प्रश्न गर्छिन् तर सरोज बोल्नै सक्दैन । बोल्नुपर्ने उसको बाध्यता छ तर, जति प्रयास गरे पनि केही भन्न सक्दैन । यसरी दिदीभाईबीच केही समय कुराकानी हुन सक्दैन । अन्त्यमा मनलाई बलियो बनाउँदै सरोज भन्छ– दिदी ! आज ममी हामीबिच रहनु भएन ।

यो वाक्यले भुवनेश्वरीलाई निकै रन्थन्यायो । उनको मन अत्तालियो । मुखबाट कुनै वाक्य नै फुटेन । आकाश झरेको र धर्ती फाटेको जस्तो भयो । एक छिन त पत्याउनै सकिनन् उनले । के भन्छस् तँ भन्दै भाइलाई ठुलो ठुलो स्वरले कराउँदै प्रश्न गर्छिन् ।

जति प्रश्न गरे पनि सरोजको एउटै उत्तर थियो– ‘आज ममी हामीबिच रहनु भएन’। भुवनेश्वरीले आखिरमा विश्वास गर्नु नै थियो । किनभने उनीहरूको ममी राधाको मृत्यु भई नै सकेको थियो । सत्य सत्य नै हुन्छ । लुकाएर कति पो लुकाउन सकिन्थ्यो र !
मृत्युको खबरले भुवनेश्वरीले आफूलाई नियन्त्रण गर्न सकिनन् । शरीरमा पसिना बग्न थाले । आँखा तिरमिराउन थाले । गोडा लुगलुगाउन थाले । हात थरथर काँप्न थाले । आफ्नै शरीर आफैलाई भारी हुन थाल्यो । थाम्न सकिनन् र क्षणभरमा नै जमिनमा ढल्न पुगिन् भुवनेश्वरी ।

यो दृश्य निकै हृदय विदारक थियो । श्रीमान् के भयो ! के भयो ! तिमीलाई भन्दै उठाउँदै थिए । भुवनेश्वरी भने विक्षिप्त भई सकेकी थिइन् । चिसो भई सकेकी थिइन । रक्त सञ्चार बन्द भई सकेको जस्तो देखिन्थ्यो । शरीरमा एक थोपा रगत पनि देखिँदैनथ्यो । अनुहार फुङ्ग थियो ।

उनको ममीको मृत्युको खबरले ममीलाई मात्र लगेन धेरै सन्त्रास छोडेर गयो । दुःख माथि दुःख थोपरेर गयो । आफ्ना बचराहरूलाई हुर्काउँदै गरेको कौवालाई बाजले लग्दा जसरी बचराहरूको बिल्लिबाठ हुन्छ त्यस्तै हुन गयो उनीहरूको घरपरिवार । भुवनेश्वरीलाई पनि मृत्युको मुखमा पु¥याई सकेको थियो । यद्यपि उनी मुर्छित अवस्थाबाट ब्युँतिइन् र मृत्युबाट बच्न सकिन् ।

त्यहाँ एउटा अकल्पनीय दृश्य देखिन्थ्यो । एक प्रकारको मौन शून्यता । भुवनेश्वरी ममीको मृत्युको पीडाले छटपटाई रहेकी थिएन । मुखबाट अन्य केही शब्द नआई केवल ममी ममी भन्दै छाती पिटी पिटी रोई रहेकी थिइन् । यो दृश्यले एउटी सानी नानी जो भरखर पाँच वर्ष कि मात्र थिइन उनले पनि आफूलाई समाल्न सकिनन् र भए भरको बुता लगाएर रुन कराउन थालिन् । ममी तपाईँलाई के भयो , के भयो भन्दै रोएको दृश्य निकै कारूणीक थियो । ममी कहिल्यै नरोएको तर अहिले रोएको देखेर उनी झन् झन् रून कराउन थालिन् । उनी किन रोइन उनीलाई नै थाहा थिएन ।

हुन पनि ती अवोध बालिकालाई के थाहा र ! उनको आमा किन रोई रहेकी छिन् भनेर । सायद तिनीलाई यो पनि थाहा थिएन मृत्यु भनेको के हो ? उनीलाई यत्ति मात्र थाहा हुन सक्दछ ममीलाई केही दुखाई हुन सक्दछ ।

उता दिदी रोएको देखेर सानो दुधे बालक पनि चिच्याउँदै रुन थाल्दछ । उसलाई पो के थाहा ! । उसलाई त्यो शून्य वातावरणमा केवल रुवाई मात्र थाहा थियो । अरु उसलाई झनै के थाहा र अबोध त्यो बालकलाई । जो केही बोल्न सक्दैन । भोक लाग्यो भन्न सक्दैन । कसैलाई सम्बोधन गर्न सक्दैन ।

ऊ त्यत्तिकै पीडामा हुन्छ र एकोहोरो रोई रहेको मात्र हुन्छ । त्यहाँ यस्तो पीडाको दृश्य निर्माण भयो कि त्यसलाई मत्थरिलो बनाउने कोही थिएनन् ।

सबैका आँखा भरी आँसु भरिएका थिए । सबै रोई कराई रहेका मात्र थिए । त्यो रुवाई निरन्तर भई नै रह्यो । न उनीहरू आफू नै समालिन सके न कोही समाल्ने मानिसहरु नै त्यहाँ थिए । त्यहाँ पीडा सीबाय अरु केही थिएन । त्यहाँ रुवाई सिवाय अ? केही थिएन । त्यहाँ मलिन अनुहार सिवाय अरुकेही थिएन ।

त्यहाँ थियो त केवल एउटा अकल्पनीय घटनाको दुखद खबर मात्र । उता भुवनेश्वरीको श्रीमान् प्रल्हाद किं कर्तव्य बिमूढ भएको हुन्छ । श्रीमती र छोराछोरीलाई नरोउ नरोउ भन्नु सिवाय केही थिएन । नरोउ नरोउ भन्ने शब्दले भुवनेश्वरीलाई झनै रूवाएको थियो ।

साना छोरा छोरी बा आमा रोएको देखेर झनै उनीहरूमा रूवावासी थपिदै गयो । त्यो सबैको रुवाई सानो पीडा थिएन किनभने उनीहरूले अव ती राधा आमालाई कहिल्यै देख्न पाउन सक्ने छैनन् । भेट्न पाउन सक्ने छैनन् । उनीको वात्सल्य प्रेम सदाको लागि मेटिएको छ । त्यसमा पनि त्यो सानो दुधे वालकले न कहिल्यै हजुर आमालाई देख्न पायो न त हजुर आमाले नै उसलाई देख्न पाइन ।

एक पटक मात्र भए पनि दुधे वालक त्यो नातिलाई छातीमा टाँस्न पाएको भए राधालाई कति आनन्द आउने थियो होला । यी सबै कुरा एउटा दारूणीक कथा जस्तै भए । त्यो वालकले पछि गएर पनि आफ्नो हजुर आमाको अनुहारको आकृति सम्म पनि अनुमान लगाउन सक्ने भएन ।

सायद उसले मेरी हजुर आमा यस्ती हुनु हुँदो रहेछ भनेर तस्बिर हेर्दै कुनै दिन अवश्य नै रोई रहने छ । स्वर्गमा गएकी राधा हजुर आमा पनि भौतिक रूपमा यो धर्तीमा आफ्नो नातिलाई देख्न नपाए पनि कल्पनाको सागरमा सायद अहिले पनि सम्झि रहेकी हुन सक्छिन् । र, त्यो वात्सल्य प्रेम दिन नपाएकोमा अहिले पनि उनको छाती भित्र रहिरहेको हुन सक्छ । उनले जोगाई राखेकी हुन सक्छिन् । यो उनको इच्छा थियो तर, अव कहिल्यै पूरा हुने भएन । र , अधुरै रह्यो ।

मृत्युको खबर यति बलवान् हुँदो रहेछ कि परिवारका सबै सदस्यहरूलाई ढाली नै दियो । पाँच वर्षकी सानी नानी र काखको दुधे वालकलाई पनि रूवाए रै छाड्यो । बोल्न नसक्ने दुधे वालक र पाँच वर्षकी ती अवध वालिकाको के दोष थियो र त्यसरी रूवाउनु पर्ने कारण ? बोल्न नसक्ने दुधे वालक र मृत्यु भनेको के हो भन्ने नबुझ्ने वालीकालाई पनि रूवाएर नै गयो त्यो निष्ठुर मृत्युले ।

सानी नानीलाई भान प¥यो कि बाबाले ममीलाई केही ग¥यो अथवा पिट्यो । सायद ती सानी नानीको वाल मस्तिष्कमा यही कुराले दुःख दिई रहेको थियो । सायद सानो वालक आनन्द भने सबै रोएको देखेर ऊ रोएको थियो । यसरी मृत्युको खबरले सबैलाई पीडा नै दियो । पीडा दिएर उसले के पो पायो होला र ? धत् , निर्दयी मृत्यु दुधे वालक र पाँच वर्षकी एउटी अवध बालिका देखि लिएर सबैलाई रूवाएर गइस् धन्न तेरो निष्ठुर मन ! ए मृत्यु
अव फेरी कहिल्यै फर्केर नआएस् है ।

प्रतिक्रिया दिनुहोस्