बाईबाई खतिवडा


Published On : 8 September, 2020

काठमाडौं, २३ भदौ । गत फागुनमा प्रधानमन्त्रीले संसद सदस्य नभएपनि अर्थमन्त्रीमा पुनः नियुक्त गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी दिएपछि अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै खतिवडा गर्जिएका थिए ‘म योद्धा हुँ, कमाण्डरले फिर्ता नबोलाएसम्म लडिरहन्छु, युद्ध मैदान छाड्दिनँ ।’ उनले अझ हौसिँदै भनेका थिए ‘योद्धा लडाईँमा त्यो बेलासम्म लडिरहन्छ, जुन बेलासम्म कमान्डरले फिर्ता बोलाउँदैन वा युद्ध जितिँदैन, मेरो चाहना पनि त्यही हो ।’

तर, यतिखेर खतिवडाले भनेको युद्ध न जितिएको छ, न उनलाई कमाण्डरले नै फिर्ता बोलाएका हुन् । उल्टै स्वयंले म्याद सकिनु केही घण्टा अघि मन्त्रीबाट राजीनामा दिएर बाहिरिएका हुन् । यसबाट उनी मुखमा जे आयो त्यही बोल्ने, र साह्रै रुखो एवं काँडारूपी शब्द प्रयोग गर्थे भन्ने आरोप पुष्टि भएको छ ।

प्रधानमन्त्रीको कानमा खतिवडाले लामो समयदेखि आफू बाहेक अरुले दातृ राष्ट्र तथा निकायहरूलाई विश्वास दिलाएर चाहेजति ऋण ल्याउन नसक्ने ‘मन्त्र वचन’ फुकिरहेका थिए । कोरोना र लकडाउनले अर्थतन्त्र थिलथिलो पर्न थालेपछि प्रधानमन्त्री स्वयम् पनि खतिवडाको मन्त्रणामा बिस्तारै राजी हुँदै गए । विदेशी ऋणमा आगामी केही वर्ष सहज ढंगले सरकार सञ्चालन गरेर राजश्व र करको लफडातिर नलाग्ने छोटो बाटो अपनाएको अनुमान लगाउन अब गाह्रो छैन । सामान्यतयाः विदेशी ऋण २५ वर्षभन्दा माथि अवधीको हुने भएकाले आगामी केही वर्ष पर्याप्त आर्थिक स्रोतको जोहो गरी सहज ढंगले सरकार अगाडी बढाउने योजनामा खतिवडा उनको प्रिय पात्र बनेका हुन् ।

उनले त्यो बेला हौसिएर ‘अझ जबसम्म युद्ध जितिँदैन मुलुकको गरिबी, अभाव, रोग, भोक, शोक र अन्यायको बिरुद्धमा लडिरहने भएकाले यसको कुनै समयसीमा नै छैन’ समेत भनेका थिए । सत्र परेको बेलामा अरुलाई भुसुना ठान्ने र आफू कमजोर भएपछि भुसुना बनेर पस्ने प्रवृत्तिका कारण खतिवडा पछिल्लो अढाई वर्ष नेकपाका नेता, कार्यकर्ता, सर्वसाधारण, व्यवसायी र सञ्चारमाध्यमको समेत तारो बने । उनको कार्यकालमा अर्थतन्त्र उकास्न खासै योगदान गर्न नसकेपनि उनी आफूलाई गलेको भावमा प्रस्तुत नगराउन भरमग्दुर प्रयासमा लागे । नेपालको आधुनिक इतिहासमा खतिवडा मात्रै यस्तो पात्र बने जसलाई पार्टी पङ्ती, सर्वसाधारण र सबै क्षेत्रबाट तिरस्कार हुँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कृत र संरक्षण गरिरहे ।

मुलुक र पार्टीभित्र अर्थमन्त्रालय हाँक्नसक्ने कुनैपनि नेता नभएको ढंगले खतिवडालाई आवश्यकताभन्दा बढी च्याप्दा स्वयम् नेकपाको र प्रधानमन्त्रीको हैसियत खस्केको छ । यसले अन्य सक्षम र इमान्दार यसअघिका अर्थमन्त्रीहरूको समेत मानमर्दन गरेको छ । तरपनि प्रधानमन्त्रीले उनलाई नहटाउन अन्तिम क्षणसम्म आफ्नै लिँडेढिपीमा अडिग रहे । परिस्थितिले कोल्टे फेरेपछि मात्र खतिवडालाई बिदा गर्न बाध्य भए ।

प्रधानमन्त्री ओलीले सबैलाई चकित तुल्याउँदै र नेकपालाई कालान्तरमा क्षति पु¥याउने गरी अर्थमन्त्री खतिवडालाई किन च्यापे होला ? सबैले यसतर्फ चासो राखेको देखिन्छ । स्रोतका अनुसार मुलुकको पछिल्लो अवस्थामा अधिक वैदेशिक ऋण लिएर सजिलोसँग सत्ता चलाउने प्रधानमन्त्रीको योजनामा सहायक बन्न योग्य भएकाले खतिवडाबाहेक अरुलाई नदेखेका हुन् ।

प्रधानमन्त्रीको कानमा खतिवडाले लामो समयदेखि आफू बाहेक अरुले दातृ राष्ट्र तथा निकायहरूलाई विश्वास दिलाएर चाहेजति ऋण ल्याउन नसक्ने ‘मन्त्र वचन’ फुकिरहेका थिए । कोरोना र लकडाउनले अर्थतन्त्र थिलथिलो पर्न थालेपछि प्रधानमन्त्री स्वयम् पनि खतिवडाको मन्त्रणामा बिस्तारै राजी हुँदै गए ।

‘आए आँप, गए झटारो’ को सिद्धान्तमा प्रधानमन्त्री र खतिवडाले विदेशी ऋणमा आगामी केही वर्ष सहज ढंगले सरकार सञ्चालन गरेर राजश्व र करको लफडातिर नलाग्ने छोटो बाटो अपनाएको अनुमान लगाउन अब गाह्रो छैन । सामान्यतयाः विदेशी ऋण २५ वर्षभन्दा माथि अवधीको हुने भएकाले आगामी केही वर्ष पर्याप्त आर्थिक स्रोतको जोहो गरी सहज ढंगले सरकार अगाडी बढाउने योजनामा खतिवडा उनको प्रिय पात्र बनेका हुन् ।

उता, बैंकको कर्मचारीबाट बढुवा हुँदै कार्यकारी निर्देशकसम्म बनेका खतिवडा राजाको शासनकालमा एकाएक योजना आयोगको सदस्य र त्यसपछि तत्कालीन एमाले सरकारले उपाध्यक्ष बनाएपछि योजनाविद् पनि बने । मुलुकमा उनले मात्र अर्थतन्त्रको सबै क्षेत्रको ज्ञान हासिल गरेका छन्, अरुचाहिँ केही पनि होइन भन्ने मान्यता हावी हुँदै गयो ।

तर, उनका समकालीन अर्थशास्त्रीहरू भन्छन् ‘खतिवडाले जानेको मौद्रिक नीति मात्र हो । त्यो पनि उनी परम्परागत पुँजीवादी ढर्राका हुन् । पश्चिमा पुँजीवादको पृष्ठपोषणपछि आफूलाई सामान्य रूपमा सुधारेका हुन् । तर, आवधिक योजना र विकास अर्थशास्त्रको सामान्य ज्ञान मात्र छ । त्यसैलै उनी गभर्नर हुँदा ठिकै देखिएका थिए भने योजना आयोग र अर्थ मन्त्रालयको नेतृत्व सम्हालेपछि स्खलित अवस्थामा पुगे । त्यो उनको क्षेत्र नै होइन । त्यसैले उनी असफल बने ।’

सबैभन्दा रोचक पक्षचाँहि ठूला व्यापारी, बैंकर, उद्योगपति मात्र होइन खतिवडाको कार्यशैलीप्रति अर्थ मन्त्रालयका कर्मचारी, नेकपाका नेता तथा अन्य मन्त्रीहरूसमेत अचम्भित देखिए । खतिवडालाई अर्थमन्त्रीको रुपमा मन नपराउनेहरूमा उनीसँग खासै प्रत्यक्ष सम्बन्ध नभएका बजार र चोकमा मकै पोल्नेदेखि घाटमा लाश पोल्नेसम्म देखिए ।

प्रतिक्रिया दिनुहोस्