Logo
Logo

उपनिर्वाचनका दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने



काठमाडौं । निर्वाचन आयोगले भोलि (शनिबार) उपनिर्वाचन हुने जिल्लामा सार्वजनिक सवारी साधन पनि चल्न दिने निर्णय गरेको छ । प्रतिनिधिसभाअन्तर्गत इलाम–२ र प्रदेशसभातर्फ बझाङ १ (क) मा भोलि उपनिर्वाचन हुँदैछ ।

आयोगले विज्ञप्ति जारी गर्दै सम्बन्धित क्षेत्रका मतदातालाई मतदान केन्द्रसम्म सहज आवागमनको लागि सार्वजनिक गाडी चलाउन पाइने निर्णय गरिएको जानकारी दिएको हो । साथै आयोगले यस सम्बन्धी प्रबन्ध मिलाउन गृहमन्त्रालयमार्फत् प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन समेत दिइसकेको जनाएको छ ।

यसअघिका चुनावहरुमा अत्यावश्यक सेवा र निर्वाचन आयोगबाट सवारी पास भएका गाडीहरुमात्र सन्चालन गर्न दिइन्थ्यो । तर यसपटकको उपनिर्वाचनमा भने मतदाताको सुविधाका लागि मतदान केन्द्रसम्मै निर्वाध रुपमा सार्वजनिक यातायातका साधन सन्चालन गर्न दिने निर्णय भएको आयोगका सहायक प्रवक्ता पन्तले जानकारी दिए ।

त्यस्तै मतदानको दिन उमेदवार वा निर्वाचन प्रतिनिधि एकजनाले चार पांग्रे, तीन पांग्रे वा दुई पांग्रेमध्ये एक वटा सवारीसाधन मात्र अनुमति लिएर प्रयोग गर्न सक्ने छन् ।

मतदानको दिन कसैले निर्देशनविपरीत सवारीसाधन प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिई मतदानको काम सम्पन्न भएपछि मात्र फिर्ता दिने आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता रामदत्त पन्तका अनुसार मतदाता ओसारपसारमा प्रयोग नगर्ने गरी बिरामी बोकेको एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारीसाधन, दमकल निर्बाध रूपमा सञ्चालन हुन पाउनेछन् ।

त्यस्तै, परिचयपत्र बोेकेका सञ्चारकर्मीको सवारीसाधन, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारीसाधन, शववाहन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन निर्बाध रूपमा चल्न पाउने आयोगले जनाएको छ ।

त्यसैगरी, निर्वाचन आयोगबाट जारी परिचयपत्र बोकेका पर्यवेक्षक, अनुगमनकर्ताले प्रयोग गर्ने, फोहोरमैला ओसारपसार गर्ने, तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने सवारीसाधन चल्न पाउने छन् ।

कूटनीतिक नियोग, यूएन एजेन्सी तथा द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी तथा कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारीसाधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारीसाधन निर्बाध रूपमा चल्न पाउने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्