Logo
Logo

नेपाल-चीनबीच मानव संसाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी सम्झौता



काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई सम्झौतामा भएको छ । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संसाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

गत असोजमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।

अर्थ मन्त्रालयमा आयोजित समारोहबीच अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेशन एजेन्सी) का प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरे ।

चाइना इन्टरनेशनल डेभलपमेन्ट को–अपरेसन एजेन्सीले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सोसम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी सुधारका एजेण्डामा काम गर्दै आएको छ ।

सम्झौताअनुसार चीनले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ । र, त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने छ ।

कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकामा चीनलाई धन्यवाद दिए । नेपाल र चीनबीच गहिरो, विविधतापूर्ण र निरन्तर दिगो सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री पुनले एकअर्काका आकांक्षा एवं संवेदनशीलतालाई सम्मान गर्दै इमान्दारिताका साथ आपसी सहयोग र मित्रता अगाडि बढाउँदै आएको उल्लेख गरे ।

चिनियाँ प्रतिनिमिण्डलको नेतृत्व गरेका लियु झाओ हुईले नेपाल चीनको असल मित्र रहेको भन्दै नेपालको विकासमा सधैं साथ रहेको बताए । राष्ट्रपति सीको नेपाल भ्रमण र प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा भएका सहमतिका प्रत्येक विषय एक–एक गर्दै कार्यान्वयन हुँदै जाने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्