काठमाडौं । अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले सामाजिक सञ्जालमार्फत दिएको राजीनामा फिर्ता लिएका छन् ।
सोमबार जेनजीले गरेको प्रदर्शनमा प्रहरीको दमनबाट १९ जनाको मृत्यु भएपछि मङ्गलवार फेसबुकमा लेख्दै उनले राजीनामा दिएको घोषणा गरेका थिए । तर बिहीबार फेरि सोही माध्यमबाट राजीनामा फिर्ता लिँदै एमाले पार्टी र सङ्गठनप्रति अटल प्रतिबद्धता व्यक्त गरेका छन् ।

कडरियाले आफूमाथि भएको आक्रमणको कारणले परिस्थितिको सामना गर्न नसकेको कमजोरी स्वीकार गर्दै एमालेका सबैजनसँग माफी मागेका छन् । उनले भनेका छन्, ‘त्यसबेला जबरजस्ती सामाजिक सञ्जालमार्फत राजीनामा दिन बाध्य बनाइयो । सायद त्यस्तो पोस्ट नगरिएको भए म आज जिउँदो हुन्थेँ । तर प्रष्ट पार्न चाहन्छु-मैले कुनै पनि सङ्गठनबाट आधिकारिक रूपमा राजीनामा दिएको छैन ।’
उनले आफ्नो घरमै हातहतियारसहित केही व्यक्ति आएर आक्रमण गरेको दाबी गर्दै चोटपटक लागेको तस्बिर पनि सार्वजनिक गरेका छन् । यस घटनाले उनलाई तत्काल राजीनामा घोषणा गर्न बाध्य बनाएको उनको भनाइ छ । कडरियाले जस्तोसुकै अवस्थामा पनि एमाले नछाड्ने प्रतिबद्धता व्यक्त गर्दै सङ्गठनका नेतृत्वसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
यो पनि पढ्नुहोस्














