Logo
Logo

उच्च प्रहरी अधिकारी छानबिनमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ भदौ । नेपाल प्रहरीको कल्याण कोष अन्र्तगत सञ्चालित पेट्रोल पम्पमा नाटकीय रुपमा भएको एक करोड भन्दा धेरै अनियमिततामा उच्च अधिकारीहरु समेत छानबिनमा तानिएका छन् । नक्सालस्थित पम्पमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप कार्कीले पम्पको पैसा आफ्नोमा खातामा जम्मा गरेर अनियमितता गरेका हुन् । कार्कीलाई अख्तियारले थुनामा राखेर अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार उनले अन्य प्रहरी अधिकारीको नाम समेत पोलेका छन् ।

उनले पम्पको एक करोड ८ लाख ९९ हजार एक सय ८४ रुपैयाँ हिनामिना गरेको खुलेपछि प्रहरी प्रधान कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको थियो । त्यतिबेला कल्याण कोषका लेखापाल रहेका इन्सपेक्टर विष्णु पोखरेलसँग आयोगले बयान लिइसकेको छ ।

२०७५ को असोजदेखि २०७६ असोजसम्मको एक वर्षको अवधिमा उनले कोषको रकम हिनामिना गरेका हुन् । त्यतिबेला सर्वेन्द्र खनाल नेपाल प्रहरीको महानिरीक्षक थिए ।

एक्लैले यसरी हिनामिना असम्भव भएको र पम्पका अन्य प्रहरी, कल्याण कोषका अधिकारीहरु समेत तानिने सम्भावना छ । असई कार्की उच्च प्रहरी अधिकारीका प्रिय थिए । त्यहीकारण लामो समय उनी पेट्रोल पम्पमा थिए । एक वर्षसम्म करोड धेरै अनियमितता हुँदा पनि चाल नपाउनु रहस्यमय छ ।

। चार्टर एकान्टेटमार्फत प्रहरीले गराएको लेखा परीक्षणमा उनको हिनामिना बाहिर आएपछि थप कल्याण महाशाखाले थप छानबिन गरेको थियो । छानबिनपछि उनी फरार भएका थिए । प्रहरीको पेट्रोल पम्पमा लामो समयदेखि अनियमितता हुँदै आएको छ । प्रहरीले मात्र होइन नेताहरुलाई समेत त्यहाँबाट निशुल्क पेट्रोल हाल्ने गरिएको थियो । अहिले पनि त्यस्तो विकृति कम भएको छैन । यसअघि पनि पेट्रोल पम्पको अनियमिततामा अख्तियारले मुद्दा चलाइसकेको छ ।

एसपीको जागिर धरापमा

यता यातनासम्बन्धी मुद्दामा रौहटका तत्कालीन एसपी रविराज खड्कासहितको प्रहरीको जागिर नै धरापमा पर्ने देखिएको छ । हत्या मुद्दामा पक्राउ परेका विजय महराको प्रहरी यातनाबाट मृत्यु भएको प्रष्ट भएको छ । सो आरोपमा प्रहरी निरीक्षक नवीनकुमार सिंह, हवल्दारद्वय हिरोज मियाँ धुनिया र मन्नुकुमार सिंह निलम्बनमा परिसकेका छन् ।

रौतहटका तत्कालिन एपी रविराज खड्का, गरुवा तत्कालिन डिएसपी ज्ञान कुमार महतो समेत यसमा छानबिनमा छन् । उनीहरुविरुद्ध समेत जाहेरी दिने तयारी गरेकाले उनीहरुको समेत जागिर धरापमा परेको छ । मुलुकी अपराध संहितामा हिरासतमा लिइएका व्यक्तिलाई यातना दिएमा फौजदारी मुद्दा चल्ने प्रावधान छ । गरुडा नगरपालिका– ८ बस्ने २० वर्षका निरञ्जन रामको हत्या आरोपमा नियन्त्रणमा लिइएका विजय महराको मृत्यु भएको हो । यातना दिने प्रहरीलाई कारबाहीको माग गर्दै स्थानीयहरुले केही दिनयता नियमित प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्