मोरङ । जोगबनी — विराटनगर–रानी नाकामा सर्वसाधारणको आवतजावतमा कडाई गरिएको छ। नेपालतर्फ नेपाल प्रहरी र भारततर्फ भारतीय सुरक्षाकर्मी परिचालन गरिई चेकजाँच कडा बनाइएको हो ।

नाकामा ठूलो ढोका बन्द गरी सवारी आवतजावतमा प्रतिबन्ध लगाइएको छ । सर्वसाधारणले भारत किनमेल गर्न जाँदा वा फर्कदा अनिवार्य रूपमा नागरिकता वा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिएको छ । साइकल, मोटरसाइकल तथा अन्य सवारी साधन नाकाबाट चलाउन नपाइने भएको छ ।
सुरक्षाकर्मीहरूका अनुसार हालै जेलबाट भागेका व्यक्तिहरू भारततर्फ नपुगून् भन्ने उद्देश्यले विशेष निगरानी गरिएको हो ।
यसैबीच, भारततर्फको जोगबनी बजारमा सामान्यभन्दा कम भीड देखिएको छ । आन्दोलनका कारण रोकिएको भन्सार नाका पुनः खुला भएसँगै आयात–निर्यात सुरु भएको छ ।














