काठमाडौँ । जेनजी आन्दोलनको क्रममा उग्र बनेको प्रदर्शनले काठमाडौँ उपत्यकामा व्यापक क्षति पुर्याएको छ । उच्छृङ्खल समूहले उपत्यकाभर प्रहरीका १२२ वटा भवनमा आगजनी गरेको पुष्टि भएको छ ।

ती सबै भवन पूर्णरूपमा जलेर नष्ट भएका छन् ।
उपत्यका प्रहरी कार्यालयका प्रमुख एसएसपी शेखर खनालका अनुसार, थप ९६ वटा प्रहरी युनिटमा आंशिक क्षति पुगेको छ । यसरी कुल २१८ प्रहरी भवनहरू तोडफोड र आगजनीबाट प्रभावित भएका छन् ।
प्रदर्शनकारीहरूले सरकारी सवारी साधनहरूमा पनि आगो लगाएका छन् । काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी १२१ वटा गाडीमा आगजनी गरिएको छ, जसमध्ये ११७ गाडी पूर्णरूपमा जलेका छन् भने ४ वटा गाडीमा आंशिक क्षति पुगेको छ । यस्तै, १५८ वटा दुईपांग्रे सवारीसाधनहरू मोटरसाइकल स्कुटर र साइबर ब्यूरोका ४ वटा गाडीमा पनि आगजनी गरिएको छ ।
रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा पार्क गरिएको सशस्त्र प्रहरीको ३ वटा गाडी र राष्ट्रिय अनुसन्धान विभागको १ गाडीमा पनि आगो लगाइएको छ ।
यसरी प्रदर्शनको नाममा भएको हिंसात्मक गतिविधिले सुरक्षा संयन्त्रमा गम्भीर असर पारेको छ भने सुरक्षाकर्मीहरूलाई व्यापक क्षति व्यहोर्नु परेको छ । प्रशासनले यस्ता गतिविधि नियन्त्रणमा लिन निगरानी कडा बनाएको जनाएको छ ।














