काठमाडौं । विश्वका केही देशहरूमा भर्खरै भएका विद्रोहले सत्ता कायापलट गरेका थिए । बङ्गलादेश, श्रीलङ्का, म्यानमार जस्ता पूर्वी एसियाका देशमा भएका विद्रोहले परम्परागत मान्यतालाई भत्काइदियो । इण्डोनेसियामा यो क्रम जारी छ । अन्य केही मुलुकहरूमा अझै आन्दोलन चलिरहेको छ । यद्यपि, नेपालमा भने दुई दिनमै सत्ताको जग मात्र हल्लाएन, परम्परागत पार्टीलाई रसातलमा पु¥याउने अवस्था आयो ।

नेपालको हरेक राजनीतिक आन्दोलनमा युवा पुस्ताको भूमिका महत्त्वपूर्ण रहेको छ । जेनजी आन्दोलन त्यसकै निरन्तरता हो । आन्दोलनबाट प्राप्त उपलब्धिको संस्थागत गर्ने जिम्मेवारी ७० कटेकी महिला नेतृले लिएपनि सत्ता परिवर्तन गर्न र राजनीतिक रूपमा उथलपुथल ल्याउन युवाहरूको भूमिका महत्त्वपूर्ण रहेको छ । जेन–जीले सुरु गरेको ‘नेपो बेबी’अभियान सामाजिक सञ्जाल हुँदै सडकमा पुगेर आन्दोलनको विशाल रूप लियो । अन्ततः दुई तिहाइ सरकार क्षणभरमै खरानीमा परिणत भयो ।
पछिल्लो समय टिकटक र रेडिटमा भाइरल ‘नेपो किड’ आन्दोलनले ठुलो हलचल ल्यायो । यो आन्दोलनले राजनीतिज्ञका छोराछोरीको विलासी जीवनशैलीमार्फत भ्रष्टाचार र आर्थिक असमानता उजागर गर्न खोजिरहेको थियो । जेनरेसन जेड अर्थात् जेन जीहरूले यसको सुरुआत गरेका हुन् । नेपालमा पनि सामाजिक सञ्जालमार्फत अघि बढाइएको यो आन्दोलन २०८२ भदौ २३ गते सोमबार बिहानबाट सुरु भयो ।
जेन जीहरूले सडकमा उत्रिएर भ्रष्टाचार र सरकारको सामाजिक सञ्जाल बन्दप्रति प्रदर्शन गरे । यो आन्दोलनको उद्देश्य, जसले भ्रष्टाचार र असमानतामाथि प्रश्न उठाउँछ, उसलाई पूर्ण समर्थन गर्ने भन्ने थियो । तर नेतृत्वविहीन भएका कारण अव्यवस्थित र हिंसात्मक हुन सक्ने डर पनि उत्तिकै थियो । जसले लुटपाट र अराजकता निम्त्याउन सक्ने सम्भावना थियो ।
२३ भदौको बिहान ९ बजे माइतीघरबाट सुरु भएको आन्दोलनले २७ घण्टामा संघीय संसद् भवन, देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार, राष्ट्रपति निवास, प्रधानमन्त्री निवासदेखि सर्वोच्च अदालतसम्म जलेर ध्वस्त भयो । त्यतिमात्रै नभएर विशिष्ट व्यक्तिका निजीनिवास र निजीक्षेत्रको खर्बौँ लगानी खरानी भयो । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि नेतालाई सेनाले जोगायो ।
आमनागरिक घरमा थुनिएका बेला सडकमा सेना अवतरण भयो । सेनाको नियन्त्रणमा रहेका सबै नेताहरूको मोबाइल फोन अफ गर्न लगाइयो । नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेपछि स्थिति नियन्त्रणमा आयो ।
सरकारले डेढ वर्षदेखि फेसबुक, ह्वाट्सएप, एक्स, युट्युबलगायत सामाजिक सञ्जाललाई नेपालमा दर्ता भएर मात्रै सञ्चालन गर्न आग्रह गरिरहेको अवस्थामा अटेरी गरेपछि त्यही बहानामा दर्ता गर्न नआएसम्म बन्द गरिदिने निर्णय ग¥यो । यही जगमा उभिए २० भदौमा जेन– जी टिकटकबाट ‘नेपो बेबी’ अभियान चलाए ।
यस अभियानअन्तर्गत जेन– जीहरूले नेताका सन्तानको विलासी जीवनशैलीको विरोध गरेका थिए । २० भदौमै उनीहरूले घोषणा गरे,–२३ भदौमा भ्रष्टाचार, बेथिति र नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शन गरे । त्यसदिन आन्दोलनकारी संसद् भवन जलाउन प्रवेश गरेपछि प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भयो ।
२३ भदौको बिहान माइतीघर मण्डलामा कलेजको ड्रेसमा भेला भएका युवाहरूले सरकारविरुद्ध नाराबाजी गर्छन् भन्ने कुरा सरकारलाई थाहा नभएको होइन । तर, सरकारले धैर्यता गुमाउँदा देश हेर्दाहेर्दै खरानीमा परिणत भयो । २३ गते काठमाडौँमा मात्र नभएर देशका विभिन्न स्थानहरूमा पनि विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए । सबैभन्दा बढी ललितपुर, भक्तपुर, विराटनगरमा, चितवन, हेटौँडामा, पोखरामा, बुटवल, सुर्खेतमा, धनगढीमा परेको थियो ।
आन्दोलन माइतीघर मण्डलाबाट नयाँ बानेश्वर बढिरहेको बेला नयाँबानेश्वर पुगेका प्रदर्शनकारीलाई प्रहरीले एनआईसी एसिया बैंक भएको घर अगाडिनै रोकेका थियो । त्यतिबेलासम्म आन्दोलन शान्तिपूर्ण थियो तर बबरमहल र विजुलीबजार तिरबाट आएका अन्य युवाहरू पनि मिसिए ।
नजिक रहेको यसपछि युवा विद्यार्थी उत्तेजित भए । यही क्रममा आन्दोलनकारीहरू प्रहरीको घेराबाट संसद् भवनमा अघि सरे । उनीहरूलाई प्रहरीले खासै वास्ता गरेन । सामान्य ठान्यो । त्यहीबीचमा घर जना लागेकोभन्दै २० वटा जति बाइकहरू ओहोर दोहोर गरेका थिए । प्रहरीले उनीहरूलाई वास्ता गरेन । त्यही बेला आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गा र पानीका बोतल प्रहार गरेपछि झडप सुरु भयो ।
त्यसपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर भीडलाई तितरबितर गराएपनि झन बढेको थियो । एक बजेतिर आन्दोलनकारी संघीय संसद् भवनभित्र प्रवेश गरेका । त्यसक्रममा नयाँ बानेश्वर क्षेत्रमा कफ्र्यु आदेश जारी भयो । पहिलोपटक संसद् भवनमा प्रहरीले गोली चलायो ।
प्रदर्शनकारीद्वारा संसद् भवनमा तोडफोड गरे । प्रहरीले गोली चलाउँदा प्रदर्शनकारी, सर्वसाधारण र पत्रकारलाई पनि रबरको गोली लागेको थियो । सयौँ राउण्ड गोली चलाएपछि साँझसम्म १९ जनाको मृत्यु भयो ।
प्रहरीको गोली लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए । नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको आकस्मिक बैठक बोलाएको थियो । त्यही बैठकमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिए ।
त्यही क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता पनि भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस नोटमार्फत शान्ति र संयमतापूर्वक समस्याको समाधान गर्न अपिल गरेका थिए ।
त्यसको भोलीपल्ट भदौ २४ गते सरकारमा रहको दल कांग्रेसलाई सरकारबाट फिर्ता गर्न दबाब बढेको थियो । पार्टी सभापति देउवाले सरकारलाई दिएको समर्थन फिर्ता लिन नमानेपछि शेखर कोइरालाले चीनबाट आफू पक्षका नेताहरूलाई राजीनामा दिन निर्देशन दिए । कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिए । लगत्तै सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको घरमा आगजनी भयो ।
आन्दोलनकारीद्वारा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा तोडफोड गरेका थिए । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नयाँ बानेश्वरको मीन भवनअगाडि सडकमा देखा परेकी थिइन् । कार्कीले त्यहीँबाट सिभिल अस्पतालमा पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएकी थिइन् ।
मंगलबार दिउसो भारतले विदेश मन्त्रालयमार्फत विज्ञप्ति जारी गरी नेपालको अवस्था नजिकबाट नियालिरहेको उल्लेख जनाएको थियो । त्यही दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्रीसमेत रहेकी उनकी पत्नी डा. आरजु राणा देउवामाथि आन्दोलनकारीद्वारा आक्रमण र निवासमा आगजनी गरेका थिए ।
च्यासलमा रहेको एमाले पार्टी कार्यालयमा आक्रमणकारीद्वारा तोडफोड गरे । गृहमन्त्रीबाट राजीनामा दिइसकेका रमेश लेखकको चन्द्रागिरिस्थित घरमा आगजनी गरेर दिनभर सिंहदरवार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, लयातका सबै प्रशासनिक संरचनामा आगलागी गरिएको थियो । त्यही क्रममा दिउसो २ बजे ओलीले प्रधानमन्त्रीबाट राजीनामा गरे । त्यसपछि सेनाको हेलिकप्टर चढेर उनी शिवपुरी भागे ।
त्यो दिन के गर्दैथिए गृहमन्त्री र सचिव ?
जेन–जीले गरेको भ्रष्टाचारविरुद्धको प्रदर्शनमा सोमबार एकै दिन १९ जनाको ज्यान गयो । यसको संख्या बढ्दै अहिले ७३ जना पुगेको छ । त्यसदिन प्रहरीले गोली चलाइरहँदा गृहमन्त्री रमेश लेखक भने आन्दोलनलाई नजर अन्दाज गरेर राज्यव्यवस्था समितिको बैठकमा थिए ।
उनी प्रहरी ऐनको बारेमा छलफल गरिरहेका थिए । गृहसचिव गोकर्णमणी दुवाडी भने आफू चीन भ्रमणमा जान लागेको र त्यस बापत प्राप्त हुने भत्ता बुझ्न भन्दै अर्थ मन्त्रालयमा पुगेका थिए । उता नागरिकहरूमाथि गोली प्रहार हुँदै गर्दा उनीहरू भने संवेदनशील बनेको पाइएको छ ।
बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका प्रहरीलाई घातक हतियार (एसएलआर) प्रयोग गर्न आदेश दिइयो भन्ने विषय महत्त्वपूर्ण रहेको छ । जहाँ एकै पटक १९ जना विद्यार्थीको मृत्यु, सयभन्दा धेरै घाइते भएका थिए । आन्दोलनकारी संसद् भवनभित्र प्रवेश गर्ने प्रयास गरेपछि त्यहाँको सुरक्षामा खटिएका कमान्डो तालिम गरेको प्रहरी टोलीले गोली चलाएको हो ।
प्रहरी स्रोतका अनुसार उनीहरूले एसएलआरबाट समेत गोली प्रहार गरेका थिए । घातक हतियारबाट गोली प्रहार भएकाले कतिपय विद्यार्थी सडकमै ढलेको भिडियोहरूमा देखिन्छ । त्यहाँ खटिएको कमान्डो टोलीसँग घातक हतियार भएका कारण त्यही हतियारबाट गोली चलाइएको बुझिएको छ ।
सो दिन प्रहरीले अश्रुग्यास तथा रबरको गोली पनि चलाएको थियो । तर, त्यससम्बन्धी सामग्री पर्याप्त नहुँदा भिड नियन्त्रण गर्न सकेन । जसरी पनि संसद् भवन जोगाउन प्रहरीलाई गृह मन्त्रालयको कडा निर्देशन थियो ।
चैत १५ गते राजावादी समूहका दुर्गा प्रसाईले गरेको आन्दोलनमै प्रहरी आलोचित बनेको थियो । खासगरी काठमाडौ प्रहरी परिसरका एसएसपी विश्व अधिकारीको पुलिसिङ भएन भन्ने आवाजमा गृहमन्त्री रमेश लेखकले आफ्नो मान्छे भएकै कारण रोकेर राखेका थिए ।
भदौ २३ पछि नेपाल प्रहरीको मनोबल निकै खस्किएको छ । प्रहरी कर्मचारी कार्यालय फर्कन सकेका छैनन् प्रहरी कार्यालय ध्वस्त छ । बस्ने ठाउँसमेत छैन भने स्रोतसाधन शून्यको अवस्थामा छ । जलेको मन लिएर जलेका भवनमा हेरेर बस्नुको विकल्प छैन । प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म तीन प्रहरीले ज्यान गुमाएका छन् । सयौको संख्यामा प्रहरी कर्मचारी घाइते भएका छन् । प्रहरीका सयौँ कार्यालयमा आगजनी र तोडफोड भएका छन् । गाडीहरू पनि दर्जनौँ जलाइएका छन् । हतियार, सञ्चार सेट र पोसाकसमेत लुटिएका छन् । यस्तो अवस्था प्रहरी काम गर्न नसक्ने अवस्थामा छ ।
यसो हुनुका पछाडि प्रहरी संगठनलाई ‘राजनीतिकरण गरिनु मुख्य कारण हो । नेताहरूले प्रहरी संगठनलाई भातृ संगठनको जस्तो व्यवहार गर्ने, हरेकलाई पिएसो आवश्यक पर्ने तथा राम्रालाई भन्दा आफ्नालाई प्राथमिता दिनु तथा प्रयाप्त आवश्यक सामानहरुको बन्दोबस्ता नगर्नु मूख्य कारण रहेको छ । तर पनि प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले कठिन अवस्थामा अझ उच्च मनोबल र साहसका लागि शान्ति सुरक्षाका लागि जुट्न निर्देशन दिएका छन् ।
त्यसदिन प्रहरीलाई आएको सूचना मात्र प्रयोग गर्न सकेको भए यति धेरै क्षति नहुने सुरक्षा अधिकारीहरू बत्ताउँछन् । ‘गृहमा हामीले भनेका थियौ आन्दोलन भड्किन सक्छ, आन्दोलनको बेला जे पनि हुनसक्छ, घुसपैठको सम्भावना छ, धेरैभन्दा धेरै मानिसहरू जेनजीको नाममा आन्दोलन गर्न आउदैछन, तर हाम्रो कुरालाई गृहले बेवास्ता गर्यो’, ती अधिकारीको दाबी छ ।
उनीहरुले राप्रपा, राजावादी, माओवादी र अन्य घुसपैठाहरुको नाम लिएका थिए । तर गृहमन्त्रालय वास्ता गरेन । साथै, अघिल्लो दिन अधिक वल प्रयोग भएपछि भोलीपल्ट अर्को रणनीति हुनुपर्नेमा प्रहरीले आफ्ना समेत कार्यालय सुरक्षा गर्न सकेनन् ।
सबैभन्दा क्षति प्रहरीले व्यहोरेको छ । प्रहरीलाई कमजोर पारियो भने सबै संयन्त्र कमजोर पार्न सकिन्छ भन्ने मनशायका साथ प्रहरीमाथि देशभर नै आक्रमण भएको थियो । देशका प्रमुख सहरमा रहेका सबै प्रहरी कार्यालयहरू ध्वस्त भएका छन् । शान्तिपूर्ण आन्दोलनमाथि सरकारले बर्बर दमन नगरेको भए यो अवस्था आउने थिएन । तर, सरकारले ‘जेन–जी’ आन्दोलनलाई पनि राजावादी आन्दोलनकै जस्तो ठान्यो । त्यो भूलकै कारण ठूलो जनधनको क्षति भयो ।














