Logo
Logo

दसैँमा यात्रा गर्न बाटो सहजस् : सडक विभाग


315
Shares

काठमाडौँ । दसैँको अवसरमा काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुहरूका लागि सडक विभागले बाटो अहिले सहज भइसकेको जनाएको छ ।

विभागका अनुसार देशका अधिकांश मुख्य राजमार्गमा पहिरो हटाउने र मर्मत सुधारको काम सम्पन्न भइसकेको छ, जसले गर्दा अब यात्रुहरूले पहिरोका कारण सास्ती भोग्नुपर्ने अवस्था नरहेको जनाएको छ। पृथ्वी र अरनिको राजमार्ग लगायतका मार्गहरू पहिरोका कारण अवरुद्ध भएका थिए, जसले यात्रुहरूलाई लामो समय ट्राफिकमा बस्न बाध्य बनाएको थियो ।

विशेषगरी मुग्लिन–नारायणघाट सडकखण्डमा पहिरोका कारण यात्रुहरू ४० घण्टासम्म ट्राफिक जाममा फस्नु परेको थियो। तर अहिले ती समस्या समाधान भइसकेको विभागका प्रवक्ता प्रभातकुमार झाको भनाइ छ । उनले भने , “दसैँ नजिकिँदै गर्दा यात्रुको चाप बढ्न थालेपछि पहिरोले प्रमुख राजमार्गहरू अवरुद्ध भए, तर हामीले २४ सै घण्टा काम गरेर ती हटाएका छौँ । अहिले सबै बाटो चलायमान छन्, ठूलो वर्षा नभएमा थप समस्या आउँदैन ।”

हाल चारवटा मुख्य राजमार्ग पूर्ण रूपमा सञ्चालनमा छन् भने १७१ वटा राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा छन् । यद्यपि केही सडकखण्डहरू अझै पनि अवरुद्ध छन् ।

अवरुद्ध रहेका प्रमुख सडकहरू :

  • ठोरी–भण्डारा–मलेखु ,
  • गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी ,
  • रसुवाको तातोपानी र टिमुरे क्षेत्र ,

यी क्षेत्रमा स्याउको कारोबार, रसुवागढी नाका लगायतका गतिविधि प्रभावित भएका छन् । अवरुद्ध सडकहरू खुलाउने प्रयास जारी रहेको र अहिले एक्साभेटर र लोडरको प्रयोग गरी काम भइरहेको विभागले जनाएको छ ।

यसैगरी, ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ र ६ जोड्ने रानीपुल बेलीब्रिज पूर्ण रूपमा अवरुद्ध रहेको छ । यो बेलीब्रिज करिब पाँच वर्षअघि रेमिट हाइड्रोले निर्माण गरेको हो, जुन गत साउन ६ गते आएको बाढीले बगाएको थियो । पुनर्निर्माणको प्रयास भइरहेको विभागले जानकारी दिएको छ ।

अन्य प्रभावित क्षेत्रहरू :

  • रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले ,
  • लेघुवाघाट–तुम्लिङटार–खाँदवारी–नुम–किमाथाङ्का कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको अल्फटेमा पनि यातायात ठप्प छ ।

दसैँमा घर फर्किन चाहने यात्रुहरूको सहजताका लागि सडक विभागले निरन्तर निगरानी र मर्मत कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्