Logo
Logo

चाडपर्व सुरक्षा र निर्वाचनको तयारीमा जुट्न सशस्त्र प्रहरीको निर्देशन


945
Shares

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चाडपर्व सुरक्षा र निर्वाचनको पूर्व तयारीमा जुट्न निर्देशन दिएका छन् । नेपालीहरूको महान् चाड बडादसैँ, शुभदिपावली, नेपाल संवत् ११४६ तथा छठ पर्वको उपलक्ष्यमा असोज १० गते प्रधान कार्यालयबाट मातहत सबै इकाईलाई उनले सो निर्देशन दिएका हुन् ।

The current image has no alternative text. The file name is: police-2.gif

उनले सशस्त्र प्रहरी बल, नेपालको गौरवमय परम्परालाई जीवन्त राख्दै, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, तराईको उष्णतादेखि हिमालको कठोर चिसोसम्म र अन्तर्राष्ट्रिय शान्ति मिसनहरूमा अहोरात्र देश र जनताको शान्ति, सुरक्षा र उद्धारमा समर्पित सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूलाई सुख, शान्ति, समृद्धि, र सु–स्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दै यी महान् चाडहरूले आपसी सद्भाव र भाईचाराको विकासमा योगदान गर्ने विश्वास व्यक्त गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले हालैको जेनजी आन्दोनलमा ज्यान गुमाउनु हुने सम्पूर्णमा हार्दिक श्रद्धान्जली अर्पण गर्दै परिवारजनहरुमा धैर्यधारण गर्ने शक्ति प्रदान होस् र घाइते बिरामीहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

उनले आगामी फाल्गुन २१ गते तोकिएको आम निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन प्रारम्भिक पूर्व तयारी सुरु गर्न मातहत इकाईहरूलाई समेत निर्देशन दिएका छन् । 

उनले नजिकिँदै गरेका चाडपर्वहरूमा जनताहरूले निर्धक्कसाथ मनाउनका लागि सुरक्षा व्यवस्थाको सुनिश्चित गर्न चाडपर्व लक्षित सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन तथा सीमा नाकाहरुबाट चाडपर्व मनाउन स्वदेश फर्किने नागरिकको सम्मानजनक तथा सुरक्षित आवागमनको लागि आवश्यक स्थानहरूमा सहायता–डेस्कहरुको स्थापना गरी समकक्षी सुरक्षा निकाय तथा सरोकारवालाहरुसंगको समन्वयमा प्रभावकारी परिचालन र नियमित अनुगमन गर्ने व्यवस्था मिलाउन निर्देशन दिए ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले चाडपर्वको समयमा सडक दुर्घटना, बाढी, पहिरो, आगलागीजस्ता विपद्हरूको जोखिमलाई ध्यानमा राखी उद्धार टोलीलाई पूर्ण तयारी हालतमा राख्न निर्देशन दिँदै विपद् व्यवस्थापनमा प्रभावकारिता बढाउन प्रारम्भिक चेतावनी प्रणालीको विकास र उपयोग, स्थानीय प्रशासन र समकक्षी निकायहरूसँग समन्वय गरी विपद् प्रतिकार्य योजना अद्यावधिक गर्न समेत निर्देशन दिए ।

भन्सार नाकाहरूबाट हुन सक्ने राजस्व चुहावट नियन्त्रण गर्न सके राष्ट्रिय अर्थतन्त्रमा थप योगदान गर्न सकिने भएकोले चाडपर्वको मौका छोपेर सीमा क्षेत्रबाट चोरी तस्करी बढ्न सक्ने हुनाले राजश्व चुहावट नियन्त्रणको लागि थप सक्रियता बढाउन समेत उनले निर्देशन दिए ।

अप्ठ्यारो परिस्थितिमा उत्कृष्ट कार्य गर्न जरुरी रहेको स्मरण गर्दै उनले उच्च मनोबल र कार्यकुशलताकासाथ कार्यक्षेत्रमा आउन सक्ने चुनौतीको सामना गर्न एकजुट भई योजना बनाउन समेत मातहत कमाण्डरहरुलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्