Logo
Logo

बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले सम्हाले कार्यभार 


630
Shares

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले प्राधिकरणको कार्यभार सम्हालेका छन् । आजै अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अध्यक्ष शर्मालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

The current image has no alternative text. The file name is: beema-paryadhikarn.gif

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ साल असोज ९ गतेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको अध्यक्ष भई कामकाज गर्न अध्यक्ष शर्मालाई जिम्मेवारी दिएको हो ।

अध्यक्ष शर्मा हाल अर्थ मन्त्रालय अन्तर्गत कार्यरत छन् । आज प्राधिकरणमा कार्यभार सम्हाल्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले हालको कठिन अवस्थामा बीमा सेवालाई थप गुणस्तरीय र विश्वसनीय बनाउँदै बीमा दाबी भुक्तानीलाई छिटोछरितो र प्रभावकारी तुल्याउनु आवश्यक भएको बताए ।

अध्यक्ष शर्माले भने, ‘हालैको नयाँ पुस्ताको आन्दोलनको भावना र बदलिँदो परिवेशमा सरकारले लिएका नीति तथा कार्यक्रम अनुसार समग्र बीमा क्षेत्र सेवाको गुणस्तर बढाउँदै आम नागरिकमा बीमाप्रतिको विश्वास बढ्ने गरी अघि बढ्नु आवश्यक छ, बीमा कम्पनीहरू प्रचलित कानुन बमोजिम अघि बढ्नुपर्छ र प्राधिकरणले पनि नियमनलाई थप प्रभावकारी बनाउनुपर्छ ।’

अध्यक्ष शर्माले भने, ‘बीमा कम्पनीहरूले बीमा दाबी भुक्तानी प्रक्रियालाई झन्झटरहित बनाएर समयमै दाबी भुक्तानी दिनुपर्छ, यसो भएमा बीमाप्रतिको विश्वास बढ्छ र बीमाको दायरा बढ्दै जान्छ, बीमाको दायरा बढ्दै गएपछि लागत पनि कम हुँदै जान्छ ।’

अध्यक्ष शर्माले सही नियतका साथ गुणस्तरीय र शीघ्र कार्यसम्पादन गर्न प्राधिकरणका कर्मचारीहरूलाई  निर्देशन दिए ।
अध्यक्ष शर्मालाई प्राधिकरणका निर्देशकहरू लगायत कर्मचारीहरूले स्वागत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्