कञ्चनपुर । थारु समुदायको सांस्कृतिक पहिचानसँग जोडिएको मादल बनाउने परम्परा पुस्तान्तरण नहुनु, कच्चा पदार्थको अभाव, र नयाँ पुस्ताको चासो नहुँदा अस्तित्व संकटमा परेको छ।

पहिले दसैँ आउनुअघि गाउँमै मादल बनाउने चलन थियो। विजयसालको काठ र बाख्राको छाला प्रयोग गरी बनाइने मादल सखिया नाचको मुख्य आकर्षण मानिन्थ्यो। तर अहिले विजयसाल, खरी लोरसिंगा, र सनपाट जस्ता सामग्री पाउन गाह्रो भएको छ। वन क्षेत्र प्रवेशमा प्रतिबन्ध र ढकेर समुदायको अनुपस्थितिले परम्परागत सामग्री जुटाउन थप कठिन बनाएको छ।
सीप भएको पुस्ता बुढ्यौलीमा पुगेको र युवाले सिक्न नचाहँदा मादल निर्माणको कला हराउँदै छ। अहिले थारु समुदाय बाहिरबाट महँगोमा मादल खरिद गर्न बाध्य छन्, जसले गुणस्तरमा पनि कमी ल्याएको छ।
स्थानीय अगुवाहरूको भनाइमा मादल अभावले सखिया नाचको आकर्षण घट्दै गएको छ। अब राज्य र स्थानीय तह मिलेर मादल निर्माणका सामग्री उपलब्ध गराउने र सीप संरक्षण गर्ने नीति नल्याए, थारु संस्कृतिको महत्त्वपूर्ण पक्ष हराउने निश्चित छ।














