काठमाडौं । काभ्रेपलाञ्चोकमा बीपी राजमार्गमा असोज १६ देखि २१ गतेसम्म रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । स्थानीय प्रशासनले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाका सवारीबाहेक सबै सार्वजनिक र निजी यात्रुवाहक सवारी साधनको आवागमन निषेध गरेको छ ।

मनसुन सक्रिय हुने र भारी वर्षाको सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले उच्च सतर्कता अपनाउन निर्देशन दिएपछि यो निर्णय लिइएको हो । जिल्ला सुरक्षा समिति र विपद् व्यवस्थापन समितिको बैठकले काभ्रे भञ्ज्याङ्ग–भकुण्डेबेसी-सिन्धुली सडकखण्डमा राति सवारी आवागमन रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।
रोशी खोला र स्थानीय खहरे खोलामा बाढीको जोखिम रहेकाले प्रहरीले आवश्यकताअनुसार अन्य समयमा पनि सवारी रोक्न सक्नेछ । जिल्ला प्रशासनले असोज १६ देखि २१ गतेसम्म अत्यावश्यकबाहेक यात्रा नगर्न, विशेषगरी रातको समयमा टाढा नजान र पहिरो तथा नदी किनारका क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ ।
गत वर्षको बाढी र पहिरोले बीपी राजमार्गमा क्षति पुर्याएको र पुनर्निर्माण नसकिएकाले जोखिम कायमै छ । सडक आयोजनाहरूले डोजर, एस्काभेटरलगायत उपकरण तयारी अवस्थामा राख्ने र सरोकारवाला निकायहरू अलर्ट राखिएको छ ।










