काठमाडौं । अर्थ मन्त्रालयले १५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा राख्न प्रतिबन्ध लगाएको छ । बुधवार राति मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यो सूचना जारी गरेको हो ।

विदेश भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा अधिकतम १५ सय डलर वा सो बराबरको परिवर्त्य मुद्रा मात्र नगदमा राख्न सकिनेछ । रामेश्वर खनाल अर्थमन्त्री बनेपछि वित्तीय अनुशासन र अनुत्पादक खर्च कटौतीका नियम कडा पारिएको छ ।
मन्त्रालयले विदेशबाट नेपाल आउने नेपाली वा विदेशी नागरिकले ५ हजार डलरभन्दा बढी रकम ल्याएमा भन्सारमा घोषणा गर्नुपर्ने जनाएको छ । ५ हजार डलरसम्मको रकम भने घोषणा बिना भित्र्याउन सकिनेछ । वैध स्रोतको रकम नगदमा राख्न वा उपयोग गर्न कुनै अवरोध नभए पनि स्रोत नखुलेको रकममाथि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार अनुसन्धान हुनेछ ।
तोकिएको रकमभन्दा बढीको कारोबार बैङ्किङ प्रणालीमार्फत गर्नुपर्नेछ । यसैगरी, असोज ५ गते मन्त्रिपरिषद्को निर्णयअनुसार सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुन र स्वीकृत मापदण्डअनुसारका सेवा-सुविधा मात्र प्रदान गरिने मन्त्रालयले जनाएको छ ।














