काठमाडौं । ‘हामी नेपाल’ का संयोजक सुदन गुरूङले आफ्नो संस्थालाई जेनजी आन्दोलनबाट पूर्णतया अलग गर्ने घोषणा गरेका छन् ।

फेसबुक भिडिओमार्फत उनले भने, ‘हामी नेपाल सामाजिक संस्था हो र अब सामाजिक कार्यमा मात्र केन्द्रित हुनेछ ।’ जेनजी आन्दोलनबाट चर्चित बनेका गुरूङ सुशीला कार्कीको प्रधानमन्त्री नियुक्ति प्रक्रिया र शपथ समारोहमा सहभागी थिए ।
उनले आन्दोलनका सहिद र घाइतेका नाममा पैसा उठाएर दुरुपयोग गरेको आरोपको खण्डन गर्दै भने, ‘हामीले कसैसँग एक पैसा लिएका छैनौँ । यो राजनीतिक दलको साइबर सेनाले फैलाएको अफवाह हो ।’
आरोप निस्तेज गर्न हामी नेपालले वेबसाइट बनाएर सहिद र घाइतेको सूची राख्ने र दाताहरूलाई सिधै सहयोग गर्न सघाउने उनले बताए । घाइतेहरूले आन्दोलनको समय, स्थान र चोटको विवरण उपलब्ध गराउन उनले आह्वान गरे ।
साथै, देशभरका जनताको माग सम्बोधन गर्न ५० भन्दा बढी विज्ञहरूको टिमले एकीकृत एजेन्डा तयार गरिरहेको उनले जानकारी दिए । यो एजेन्डा सार्वजनिक गरी सबैको सुझाव मागिने र राजनीतिक दलहरूलाई पनि सहयोग गर्न आग्रह गरिएको छ । गुरूङले राष्ट्रलाई पार्टीभन्दा माथि राख्न जोड दिए ।














