काठमाडौं । दुर्घटनाका घाइतेले उपचार नपाएको भन्दै महोत्तरीको बर्दिबासमा पीडित परिवार र स्थानीयले आज यातायात बन्द गरेका छन् ।

यही असोज १७ गते बर्दिबास–११ खयरमारामा ना. ६ ख १४६४ नम्बरको बस दुर्घटना हुँदा एकजना पैदल यात्रुसहित २ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए ।
दुर्घटनाका घाइतेले उपचार नपाएको भन्दै पीडित पक्षले आइतबार बिहान राजमार्गमा पर्ने बर्दिबास ३ गौरीडाँडामा सडक अवरुद्ध गरेका हुन् । दुर्घटनापछि गम्भीर घाइतेलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ लगिएको थियो ।
काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टर, भक्तपुर इन्टरनेसनल हस्पिटल र पाटन अस्पतालमा उपचाररत घाइतेले यातायात ब्यबसायी संघ र बस संचालकले आवश्यक समन्वय नगर्दा बिरामीले औषधिसमेत नपाएको पीडित पक्षको गुनासो छ ।
यसैबीच बर्दिबास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्रीले खयरमारा बस दुर्घटनाका घाइतेको उपचारको पहल गर्न आफू आज काठमाडौँ जान लागेको बताएका छन् ।
असोज १७ गते दसैँ मनाएर काठमाडौँ फर्किरहेका यात्रु चढेको बस बर्दिवास नगरपालिका–११ खयरमारामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए ।
महोत्तरी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी शैलेन्द्र भट्टका अनुसार दुर्घटनामा एकजना पैदल यात्रुसहित २ जनाको मृत्यु भएको हो ।
भित्री सडकमा भएको बस दुर्घटनामा पैदलयात्री महोत्तरीको बर्दिबास नगरपालिका–१० का ७३ वर्षीय चुल्हाई चौधरी र बसकै यात्रु सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ का १० वर्षीय प्रवीण खड्काको मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते भएका ३४ जनामध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । खयरमाराबाट काठमाडौँतर्फ जाँदै गरेको बस खयरमारास्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयको पर्खाल भत्काउँदै नरिवलको रुखमा ठोकिएर दुर्घटना भएको थियो।














