
काठमाडौं । गएको भदौ २३ र २४ गते ‘जेनजी’को आन्दोलनका क्रममा ट्राफिक प्रहरी कार्यालयमा जलेका सवारीसाधनका कागजात पुनः प्राप्तिका निम्ति निवेदन दिन सेवाग्राहीले प्रहरी कार्यालय धाउनु नपर्ने भएको छ । जलेका कागजात पुनः प्राप्तिका निम्ति अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने जनाइएको छ ।
आगजनीका कारण ट्राफिक कार्यालयमा रहेका सवारीसाधनका कागजात, सवारीचालक अनुमतिपत्र, दर्ता किताब, जरिवाना विवरणलगायत महत्त्वपूर्ण सरकारी कागजात जलेर नष्ट भएका थिए ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको वेबसाइटमा ‘कागजात हराएमा’मा क्लिक गरी फाराम भर्न सकिने कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
निवेदन ‘सबमिट’ भएपछि आवेदन नम्बर आउँछ । पछि ‘चेक एप्लिकेसन’मा उक्त नम्बर राख्दा क्यूआर कोडसहितको सिफारिसपत्र सेवाग्राहीले प्राप्त गर्छन् ।
उनले भने, ‘क्यूआर कोडको सिफारिसपत्रसहित सम्बन्धित यातायात कार्यालयमा सेवाग्राहीले जानुपर्ने हुन्छ । यसबाट सेवाग्राहीको समयको बचत हुनुको साथै ट्राफिक प्रहरी कार्यालयमा कामको चाप कम हुन जान्छ ।’
साथै, कुनै व्यक्तिको कागजात जलेको छ र ट्राफिक प्रहरीले पहिले नै काटेको २४ घण्टे पुर्जी वा सिफारिसपत्रका आधारमा हाललाई सवारीसाधन सञ्चालन गर्न सकिने प्रवक्ता सुवेदीले बताए ।
उनले भने, ‘सवारीचालक अनुमतिपत्र नभए पनि, यदि ट्राफिक प्रहरीले पहिले काटेको २४ घण्टे पुर्जी वा कुनै प्रमाण रहेको छ भने सोहीलाई आधार मानेर सवारी चलाउन दिइनेछ ।’














