काठमाडौं । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई जेनजी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मेवारी लिनुपर्ने भन्दै तत्काल अनुसन्धानको दायरामा ल्याउन माग गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले ओली र लेखकमाथि छानबिन गरी दोषी ठहरिए कारबाही गर्नुपर्ने बताएका हुन् । शेर्पाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आन्दोलनको नेतृत्व गरेको र सिंहदरबार जलाउने जस्ता गतिविधिलाई प्रोत्साहन गरेको आरोप लगाउँदै उनलाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन् ।
उनले भने, ‘सेप्टेम्बर ८ को घटनापछि हामीले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने र शक्तिशाली छानबिन आयोग गठन गर्नुपर्ने माग गरेका थियौँ। अहिले पनि हाम्रो अडान यही छ ।’ नेविसंघले आन्दोलनमा संलग्न आगजनी, तोडफोड र लुटपाटका दोषीमाथि कारबाहीको माग गर्दै असोज २८ गतेदेखि प्रदर्शन गर्ने चेतावनी दिएको छ ।














